साफ यू–१५ महिला फूटबलः बंगलादेशसँग ३–० गोलले पराजित हुँदै नेपाल सेमिफाइलमा
२८ साउन, काठमाडाैँ भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ । बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ ।
भर्खरै थिम्पुमा सम्पन्न समूहचरणको अन्तिम खेलमा नेपाल पराजित भएको हो । बंगलादेशको जितमा पहिलो हाफको इन्जुरी समय (४६औँ मिनेट)मा तोहुरा खातुनले गोल गरिन् । त्यस्तै ५१औँ मिनेटमा मारिया मान्डा र ६७औँ मिनेटमा सजिदा खातुनले एक÷एक गोल गर्दै ३–० को अग्रता कायम गर्न सफल भए । त्यसपछि खेलमा गोल हुन सकेन र बंगलादेशले खेल ३–०ले जित्यो ।

हारका बाबजूद समूह बीको उपविजेता बन्दै नेपाल सेमिफाइलन प्रवेश गरेको छ भने दुवै खेल जितेको बंगलादेश समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको थियो । त्यस्तै समूह ‘ए’ बाट भारत र भुटान सेमिफाइनलमा पुगेका छन् । सेमिफाइलनमा नेपालले आगामी सोमबार भारतको सामना गर्नेछ भने भूटानले बंगलादेशको सामना गर्नेछ ।
प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् । मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।
प्रकाशित मिति : August 13, 2018 at 10:15 pm









