जुम्लाका दुई बस्तीमा प्रहरी चौकी स्थापना
१० चैत, जुम्ला । जुम्लाका दुई बस्तीका प्रहरी चौकी स्थापना गरिएको छ । दुर्गम बस्तीका नागरिकलाई शान्ति सुरक्षा दिनका लागि प्रहरी चौकी स्थापना गरिएको हो । जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको तल्फीगाउँमा प्रहरी चौकी स्थापना गरिएको छ । यस्तै सिंजा गाउँपालिका–५ र ६ वडालाई लक्षित गरी ५ वडाको शनिगाउँस्थित फोइचौरमा प्रहरी चौकी स्थापना गरिएको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार सिंजाको शनिगाउँ र पातारासी गाउँपालिकाको तल्फीगाउँमा प्रहरी चौकी स्थापना गरिएको हो । शनिगाउँ प्रहरी चौकीमा नागिमान कठायतको नेतृत्वमा पाँच प्रहरी कार्यरत छन् ।
यस्तै पातारासी गाउँपालिकको तल्फीगाउँमा स्थापना गरिएको प्रहरी चौकीमा हवलदार सुरेन्द्र बहादुर बुढा नेतृत्वमा पाँच जना प्रहरी कार्यरत रहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए। उनले भने,‘प्रहरी चौकी स्थापनासँगै आपराधिक क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक–प्रहरीबीचको सहकार्य आवश्यक रहेको बताइन् । उनले भनिन् चैत महिनाको दोस्रो सातामा दुई दुर्गम गाउँबस्तीमा दुई प्रहरी चौकी स्थापना गरिएको छ ।
पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराका अनुसार दुर्गम गाउँबस्तीमा असुरक्षा बढेको अवस्थामा प्रहरी चौकी स्थापना हुँदा सहज भएको छ । यहाँ अब शान्ति सुरक्षा कायम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : March 24, 2022 at 7:29 pm









