१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नेता ज्ञवालीको ‘दिशाबोध’ लोकार्पित

१० चैत, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीबाट लिखित ‘दिशाबोध’ (समाजवादका आधार निर्माण) पुस्तकको लोकार्पण गर्नुभएको छ । एमालेको जारी केन्द्रीय कमिटीको बैठकको आजको कार्यबाही सुरु हुनुअघि अध्यक्ष ओलीले उक्त पुस्तकको विमोचन गर्दै वर्तमान सन्दर्भमा मुलुकको राजनीतिक यात्रा र समृद्धिको लक्ष्यलाई थप स्पष्ट पार्न पुस्तकले भूमिका खेल्ने बताए ।

उनले पार्टीका नेता–कार्यकर्तालाई लेखपढ र प्रकाशनमा ध्यान दिन आग्रह गर्दै राजनीतिक सङ्घर्षको प्रतिफलबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लाग्नुपर्नेमा जोड दिए । समसामयिक राजनीतिक स्थिति र एमालेको अवधारणामा आधारित सो कृति राष्ट्रिय युवासङ्घ नेपालले प्रकाशन गरेको हो ।

पार्टी प्रवेश

सोही कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई अध्यक्ष ओलीले स्वागत गरे । प्रवेश गर्नेमा गत निर्वाचनमा काठमाडौँबाट बागमती प्रदेशसभा सदस्यमा उम्मेदवार रहेका विवेकशील साझा पार्टीका दिपेश वैद्य, सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष नेकपा (माओवादी केन्द्र)का भूपालसिंह राई, दाङस्थित माओवादी केन्द्रका नेता प्रमोद शर्मालगायत छन । बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक अहिले जारी छ ।

प्रकाशित मिति : March 24, 2022 at 4:39 pm