१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

जग्गा बेच्न नदिएपछि साथीसँग मिलेर आमाको हत्या

७ चैत, पोखरा । पोखरामा आमाले जग्गा बेच्न नदिएपछि छोराले हत्या गरिदिएका छन् । पोखरा १२ शीतलादेवी बस्दै आएकी नौमाया नेपालीलाई उनकै छोरा ओमले हत्या गरिदिएका हुन् । चैत ४ गते बिहान उनले साथीसँग मिलेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘ओमले जग्गा बेच्न लागेका रहेछन् । आमाको नाममा भएकोले सजिलोसँग बेच्न पाएनन् । उनले आमालाई आग्रह गर्दा पनि नमानेको स्वीकारे,’ कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले भने, ‘आमाले कुनै पनि हालतमा जग्गा बेच्न नमानेपछि आमाकै हत्या गरेको पाइयो ।’ आमाको हत्याका लागि ओमले सोही ठाउँका आफ्नै साथी कुमार गुरुङलाई योजना सुनाए । कुमारलाई १ लाख रुपैयाँ दिने सहमति गरेर ओमले हत्या गरेको तिवारीले बताए ।

घटना यसरी भयो

ओमले आमाको नाममा भएको जग्गा बेच्ने योजना बनाए । आमाले मानिनन् । ओमले जसरी पनि जग्गा बेच्नुपर्ने भएपछि आमालाई तगारोबाट हटाउने सोच बुने । चैत ३ गते होलीको दिन अबेरसम्म ओम र कुमार मिलेर रक्सी पिए । सोही क्रममा योजना बनाए । भित्रबाट चुकुल लगाएर सुतिरहेकी आमालाई हत्या गरिदिन कुमारलाई पठाए । राति साढे १० बजे कुमारले नौमायाको हत्या गरे।

भित्र पसेर कुमारले आमाको हत्या गरिसकेपछि दुवै जना कुमारकै घरमा गएर बसेका थिए । ‘बिहान आएर ओमले आमाको हत्या भएको देखेर हारगुहार गरेको पाइयो । वरपर कसैले पनि ओमले त्यस्तो गरेको आशंका गर्न सकेनन्,’ तिवारी भन्छन्, ‘अनुसन्धान गर्दै जाँदा उनै दोषी देखिए ।’

प्रहरीले हत्या आरोपमा पक्राउ परेका नेपाली र गुरुङ दुवैजनालाई फौजदारी अपराध संहिता अनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । दुवैजनालाई जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी कारबाही अघि बढेको प्रहरीले जनाएको छ । नौमाया प्यारालाइसिसबाट पीडित भएकाले प्रतिकार गर्न सक्ने अवस्थामा नभएको तिवारी बताउँछन् । उनको घाँटीमा नीलडाम र अनुहारमा चोट लागेको थियो ।

प्रकाशित मिति : March 21, 2022 at 6:43 pm