१९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026

क्याम्पस प्रमुख कार्यकक्ष अनिश्चितकालिन तालाबन्दी

७ चैत, धनकुटा । नेपाल विद्यार्थी संघ धनकुटाले धनकुटा बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दीको गरेको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गत फागुन २२ गते क्याम्पस प्रमुख समक्ष राखेको सात बुँदे माग पत्रमा सम्बोधन नभएको भन्दै तोडफोड गरी क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

क्याम्पस प्रमुख होमबहादुर बस्नेतलाई कार्यकक्षबाट बाहिर निकाली नेविसंघले कुर्सीसमेत जलाएको छ । संघले एक विज्ञप्तिमार्फत क्याम्पसमा पिउने पानीको व्यवस्था, शौचालय सुधार, पुस्तकालयमा नयाँ पाठ्यक्रम अनुसारको पुस्तकको व्यवस्था, छात्रावासको सुधारलगायत माग गत फागुन २२ गते क्याम्पस प्रमुख समक्ष राखेको थियो । माग सम्बोधन नभएकाले तालाबन्दी गरेको र यति हुँदा पनि माग सम्बोधन नभए थप प्रशासनिक कामकाज ठप्प गर्ने नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापति सुवास भण्डारीले बताए । पठनपाठन सुचारु गर्न विद्यार्थीसँग छलफल भइरहे पनि विद्यार्थीका माग क्याम्पसले क्रमिक रूपमा पुरा गर्ने क्याम्पस प्रमुख होमबहादुर बस्नेतको आरोप छ ।

क्याम्पस प्रमुखको पक्षमा अनेरास्ववियु

यस्तै क्याम्पस प्रमुखको कुर्सी जलाइएको प्रति अनेरास्ववियु क्याम्पस इकाई समितिले भने विरोध गरेको छ। अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघको नाममा केही अराजक व्यक्तिद्वारा क्याम्पस प्रशासनमा गरेको सार्वजनिक सम्पत्तिको तोडफोड तथा क्याम्पस प्रमुखका कुर्सी जलाएकोमा आपत्ति जनाएको छ ।

अनेरास्ववियुले क्याम्पसको सार्वजनिक सम्पत्ति तोडफोड र नष्ट गर्ने अराजक व्यक्तिहरूलाई कारबाही गर्न क्याम्पस प्रशासन समक्ष माग गरेको छ । क्याम्पस प्रशासनमा लगाइएको ताला २४ घण्टा भित्र नखोलिएमा अनेरास्ववियुले विद्यार्थीका हकहितका लागि जस्तोसुकै कदम उठाउन तयार हुने अनेरास्ववियु क्याम्पस इकाई समितिका अध्यक्ष बालकृष्ण बसेल र सचिव कुमार सापकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : March 21, 2022 at 6:19 pm