पत्रकार केसीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना
६ चैत, सिन्धुपाल्चोक । नेपाल प्रेस युनियन सिन्धुपाल्चोकले ‘प्रेस युनियन–राम केसी अग्रज पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ । युनियनले चौतारामा शनिबार श्रद्धाञ्जलिसभा गरी यस्तो घोषणा गरेको हो । यसअघि युनियनले सिन्धु अग्रज पत्ररिता पुरस्कार प्रदान गर्दै आएको थियो । यसैलाई परिवर्तन गरी केसीको सम्मानमा नयाँ नामबाट पुरस्कार दिइने युनियन जिल्ला अध्यक्ष दुर्गा आचार्यले जानकारी दिए।
केसी राससमा आबद्ध रहेका थिए । शनिबार १०औँ दिनको पुण्यतिथिमा केसीको व्यक्तित्वबारे पत्रकार महासङ्घ सिन्धुपाल्चोकका पूर्वसभापतिद्वय सुदर्शन आचार्य, ऋषिराम पौड्याल, साहित्यकार अमित घिमिरे, महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, नेपाली कांग्रेस सिन्धुपाल्चोकका उपसभापति टङ्क कार्की, पूर्वसचिव बिलबहादुर तामाङलगायतले चर्चा गरेका थिए ।
विसं २०५१ बाट पत्रकारिता सुरु गरेका केसीका एक गीति सङ्ग्रह र एक कथा सङ्ग्रह प्रकाशित छन् । दमको रोगबाट ग्रसित उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा निधन भएको थियो ।
प्रकाशित मिति : March 20, 2022 at 10:28 am









