झलनाथ खनालको निर्वाचन क्षेत्रमा केपी शर्मा ओलीले पहिलो पटक सम्बाेधन गर्दै
५ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि इलामको सूर्योदय नगरपालिका जाँदैछन । बृहत् जनसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली इलाम जान लागेका हुन । ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि जनसभालाई सम्बोधन गर्ने तय भएको छ ।
इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए । खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको हो । झलनाथ खनालको निर्वाचन क्षेत्रमा केपी शर्मा ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन । ओलीले अहिलेसम्म इलामको निर्वाचन क्षेत्र नम्बर १ मा भएको कार्यक्रममा सहभागी भएका थिएनन् ।
‘ओलीले अहिलेसम्म कुनै पनि हैसियतमा यो क्षेत्रको कार्यक्रममा सहभागी हुनु भएको छैन’, नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले भने, ‘चैत ६ गते पहिलो पटक आउन लाग्नु भएको हो ।’ खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर नभएको एमाले अध्यक्ष बस्नेतको दाबी छ । ‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ’, अध्यक्ष बस्नेतले भने,‘को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ ।’
पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्याउनको लागि जनसभाको आयोजना गरेको एमाले जनाएको छ ।
प्रकाशित मिति : March 19, 2022 at 8:14 pm









