१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

यौन शोषणको अारोपमा रुफटप रेष्टुरेण्टका सञ्चालक सुजन कार्की र रामचन्द्र कार्की पक्राउ

२७ साउन,ललितपुर । किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर रेष्टुरेण्टमा काम गराउने रेष्टुरेन्ट सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर सानेपा रुफटप रेष्टुरेण्ट एण्ड बार सञ्चालक सुजन कार्की र रामचन्द्र कार्कीलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

सञ्चालक द्वयले विभिन्न जिल्लाबाट किशोरीहरु ल्याएर रोजगारी दिने भन्दै शोषण गरेको पाइएको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुलाई यौन शोषणसमेत गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरुविरुद्ध मानव बेचविखनको समेत आरोपमा अनुसन्धान अघि बढेको छ ।

रेष्टुरेण्टबाट चार जना किशोरी उद्धार गरिएको प्रवक्ता चन्दले बताउनुभयो । परिसरले विशेष सुराकीका आधारमा अनुसन्धान गरेर कारवाही गरेको हो । उहाँले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार २०:२६