७ असार २०८३, आइतबार | Sun Jun 21 2026

समाजवादी छाडेका मोहम्मद हलिम १ सय ५३ अगुवा कार्यकर्तासहित एमाले प्रवेश

२३ फागुन, प्यूठान । नेकपा एमालेमा प्रवेश गरेका नेकपा एकीकृत समाजवादी प्यूठानका पूर्व उपाध्यक्ष मोहम्मद हलिम हलुवाईले नेकपा एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रको राजनैतिक गोटी बनेको आरोप लगाएका छन् । एमाले सरुमारानी गाँउपालिका संगठन कमिटीद्वारा आयोजित पार्टी समाहित तथा प्रवेश कार्यक्रममा हलुवाईको नेतृत्वमा समाजवादीको पालिका स्तरिय संगठन कमिटी सहित जिल्ला कमिटी सदस्य भानुभक्त भुसाल, बासुदेव गिरी लगाएत १ सय ५३ जना अगुवा नेता कार्यकर्ताहरु एमालेमा गएका छन् ।

प्रवेश कार्यक्रममा बोल्दै हलुवाईले भने, ‘समाजवादीको राजनैतिक एजेन्डा जसरी पनि एमाले हराउ भन्ने बाहेक केही देखिएन ।’ उनले पार्टी सत्तालिप्सामा लिप्त हुँदै एमसीसी परियोजनालाई राष्ट्रहित विपरीत पार्टीको आधिकारिक मान्यतालाई एकाएक तिलाञ्जली दिएको सुनाए । ‘जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तलाई लत्याउँदै माओवादी केन्द्रसँग पार्टी एकता हुने अवस्था देख्यौं’,उनले भने,‘विचारविहिन पार्टीमा बस्नुको कुनै औचित्य देखेनौ ।’

सरुमारानी एमाले गाउँपालिका संगठन कमिटी अध्यक्ष बसन्त जिसीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापा, लुम्बिनी प्रदेश सांसद हरि प्रसाद रिजाल, एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्ट, पूर्व अध्यक्ष तुल्सीराम शर्मा, संविधानसभा सदस्य धन बहादुर रायमाझी लगायतका नेताहरुले उनीहरुलाई स्वागत गराए ।

समाजवादीको उपस्थिति रहेको सरुमारानीमा गएको ठूलो धक्कासंगै प्युठानमा छिटफुट मात्रामा रहेको नेकपा समाजवादी शून्य अवस्थामा झर्न थालेको चर्चा चलेको छ । यसअघि समाजवादीका जिल्ला सचिव दीपेन्द्र केसी लगायतका अगुवा नेता तथा कार्यकर्ताहरु एमालेमै फर्किएका छन् ।

प्रकाशित मिति : March 7, 2022 at 11:17 am