८ असार २०८३, सोमबार | Mon Jun 22 2026

दोहोरो कर लाग्दैनः मन्त्री आङ्बो

२५ साउन, झापा । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले व्यापारीले दोहोरो कर तिर्नु नपर्ने बताउनुभएको छ ।झापा उद्योग सङ्घले आज  आयोजना गरेको ‘स्वागत सम्मान तथा भेटघाट कार्यक्रम’मा मन्त्री आङ्बोले उक्त कुरा बताउनुभएको हो । “कुनै पनि वस्तु उत्पादन, ढुवानी वा निर्यातमा दोहोरो कर लाग्दैन”, मन्त्री आङ्बोले भन्नुभयो, “यस विषयमा व्यवसायी चिन्तित हुनु पर्दैन ।”

कार्यक्रममा तीन तहको सरकारको संरचना बनेसँगै उद्योग–व्यवसाय क्षेत्रमा दोहोरो कर लाग्ने हो कि भन्ने विषयमा उद्योगी–व्यवसायीले चिन्ता व्यक्त गरेका थिए ।“अहिलेको तीनै तहका सरकारको अर्जुनदृष्टि भनेको आर्थिक समृद्धि हो र त्यो हासिल गर्न उद्योग वाणिज्य क्षेत्रको संरक्षण, सम्वद्र्धन र विकासबिना सम्भव छैन”, उहाँले भन्नुभयो, “सरकार निजी क्षेत्रप्रति सकारात्मक छ ।”

कार्यक्रममा नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेशकुमार मित्तलले नयाँ श्रम ऐनले चिया उत्पादकलाई मार परेको भन्दै पुनरावलोकन गर्न आग्रह गर्नुभयो । त्यस्तै, सङ्घका पूर्वअध्यक्ष चण्डी पराजुलीले अझै पनि उद्योगी कतै न कतै दोहोरो करको मारमा परिरहेको गुनासो गर्नुभयो ।

प्रकाशित मिति : August 10, 2018 at 8:30 pm