कांग्रेस-एमाले शिर्ष नेताबीचको वार्ता सकियो, के भयाे निर्णय ?
१४ फागुन, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् । बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने जानकारी दिए ।
‘नयाँ खबर सुनाउँला भन्ने आशा थियो तर, कुरा पुरानै अवस्थामा छ । हामीले प्रतिनिधि सभा सुचारु गराैं, एमसीसी अनुमोदनको दिशामा लैजाऔं भन्ने प्रस्ताव गर्यौं,’ कार्कीले भने, ‘उहाँहरूले हाम्रा लागि संसदको द्वार बन्द भएको छ । त्यो खुलाउने जिम्मेवारी सरकारको भएको बताउनुभयो ।’

छलफलमा कांग्रेस नेताहरूले संसद जीवन्त बनाउने जिम्मेवारी प्रमुख प्रतिपक्षको पनि भएको भनेको कार्कीले बताए । ‘संसद खुलाउने तपाईंहरूको पनि दायित्व हो, परिस्थितिको मूल्यांकन गरेर अघि बढौँ भनेका छौं,’ कार्कीले भने ।
दुई पार्टीका नेताहरूले छलफल गरेर सहमति बन्ने अवस्थामा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीको भेट हुने तय भएको थियो । तर, लामो समय छलफलमा बसेका दुई दलका नेताहरूबीच निष्कर्ष निस्कन नसक्दा प्रधानमन्त्री देउवा बालकोट गएनन् । कांग्रेस र एमालेबीच संवादलाई निरन्तरता दिने सहमति भने भएको कार्कीले बताए ।
बैठकमा दुवै दलका दोस्रो तहका नेताबीच छलफल भएको हो । छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की सहभागी थिए ।
प्रकाशित मिति : February 26, 2022 at 7:01 pm









