गठबन्धनले एमसीसीलाई गिजोले, देशले यसको गम्भीर मूल्य चुकाउनुपर्छ : प्रदीप ज्ञवाली
१३ फागुन, काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीलाई गिजोलेर भूराजनीतिक विषय बनाइएको बताएका छन् । उनले गठबन्धनले एमसीसीलाई गिजोलेका कारण देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताएका छन् ।
उनि भन्छन्, ‘एमसीसीलाई लिएर सरकारमा रहेका पाँच दलीय गठबन्धन दलहरुले दुईवटा ब्लन्डर गरेका छन्, त्यसकारण मूल्य देशले धेरै महंगो चुकाउनुपर्छ । यो अमेरिका र नेपाल दुई देशसँग सम्बन्धित कुरा हो अघि बढाउने वा नबढाउने । तर यसमा उहाँहरुले गिजोल्दा गिजोल्दा भूराजनीतिक विषय बनाउनु भएको छ । एमसीसीको विषयलाई लिएर शक्ति राष्ट्रहरुले नेपालको विषयलाई लिएर तानातान गर्नुपर्ने स्थिति निम्त्याएको उहाँहरुले हो ।’
उनले सभामुख र एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाही गरेर अघि बढ्ने कुरामा नेपाली कांग्रेस सकारात्मक रहेको पनि बताए ।
ज्ञवालीले संसद अवरोध पार्टीको बाध्यता भएको र आफ्नो पार्टी दलीय स्वार्थका लागि नभइ दलीय व्यवस्था प्रणालीको लागि लडिरहेको बताए । उनले भने, ‘दलीय स्वार्थका लागि अहिले संसद बन्द भएको होइन, हामी एउटा सिस्टमा लागि लडेका छौँ । दलीय व्यवस्था हो भने दलको सर्वोच्चता स्थापित हुने एउटा आधारभुत कुरासँग जोडिन्छ, यदी त्यसो भएन भने सिस्टम चल्दैन ।’
प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १७:३३