५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमाले कसैले पनि हराउन नसक्ने याेद्धा हाे, चुनावबाट फेरि सरकारमा आउँछ : अध्यक्ष ओली

११ फागुन, भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् । देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै ओलीले चुनावकाे माध्यमबाट फेरि सरकारमा आउने दाबीसमेत गरे ।

बुधबार आफ्नो ७१ औँ जन्मदिनको अवसरमा भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको बताए । उनले आफूहरूले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोपसमेत लगाए ।

उनले भने, ‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिँदैन । एउटै सर्तमात्रै उसलाई हराउन सकिन्छ, उसलाई जमिनबाट छुटायो भने अथवा जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ । अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधीशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई । अलिकति मौका मिल्यो भने । तर आखिर उचालेको उचाल्यै कहाँ हुन्छ ? हामी जमिनमा छोइ हाल्छौँ, टेकी हाल्छौँ । जनतासँग एकाकार भइहाल्छौँ । नेकपा एमाले फेरि आउँछ । जनताबाट जन्मिएको, जनताको बीचमा हुर्किएको, जनताका लागि बनेको यो पार्टी, देशका लागि बनेको यो पार्टी, जनताको सुःख र समृद्धिका लागि बनेको पार्टी, त्यस कारणले यसले जनताको साथ प्राप्त गर्छ ।’

अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रूपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए । त्यस अवसरमा उनले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गरे । कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेको विचारहरुको सङ्गालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

प्रकाशित मिति : February 23, 2022 at 7:16 pm