१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

इन्काउन्टर प्रकरणः अपराध महाशाखा र काठमाडाैँ प्रहरी प्रमुख हेडक्वार्टर तानिने !

२४ साउन, काठमाडाैँ । अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरमा सरकारले अनुसन्धान गर्ने भएको छ । गृहमन्त्री रामबहादुर थापाले ११ बर्षीय निशान्त खड्का अपहरण संलग्न दूई अपहरणकारीमाथि प्रहरीले गरेको इन्काउन्टरबारे अनुसन्धान गर्ने बताएका हुन ।

बिहिवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सरकारको आधिकारिक धारणा बाहिर आइसकेको भन्दै छानिवन र अनुसन्धानका लागि सरकार तयार रहेको बताए ।  गत सोमबार प्रहरी इन्काउन्टरमा परी सिन्धुपाल्चोकका २२ वर्षीय अजय तामाङ  र नुवाकोटका २३ वर्षीय गोपाल तामाङको मृत्यु भएको थियो । प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाको लागि गोली चलाएको बताएको छ ।

आइतवार साँझ अपहरणमा परेका बालक निशान खड्काको शव सोमवार मध्यान्ह भक्तपुरको थिमीमा मृत अवस्थामा फेला परेको थियो । निशान खड्काको अपहरण पछि हत्या भएको थियो । प्रहरीले अपहरण गरी हत्यागर्नेको खोजी गर्नेक्रममा इन्काउन्टर गरेको थियो ।

यता गृहमन्त्रीले अनुसन्धान गर्ने बताएपछि अपराध महाशखाको प्रमुख धिरजप्रताप सिंह र काठमाडाैँ परिसरका प्रमुख विश्वराज पाेखेरललार्इ हेडक्वार्टर तानिने सम्भावना बढेको छ । प्रहरी स्रोतका अनुसार इन्काउन्टर विवादित हुनुमा सिंह र पोखरेलको जुँगाको लडाइले समेत काम गरेको विश्लेषण गरिएको छ ।

उनीहरू दुबैलार्इ इन्कान्टर प्रकरणमा नभइ नियमित मूल्यांकनको बाटोबाट हेडक्वाटर तानिने सम्भावना पनि रहेको छ । यसअघि दैनिकीसँग कुरा गर्दै प्रहरी प्रवक्ता शैलेश थापाले इन्काउन्टर कानुन अनुसार नै भएको भन्दै यसलार्इ धेरै विवादित बनाउन अावश्यक नरहेको बताएका थिए ।

यता इन्काउन्टर फेक भएको भन्दै नियन्त्रणमा लिएर हत्या गरिएको भन्दै पीडितका परिवार विभिन्न निकायमा धाउन थालेका छन । घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार अायोगले समेत छानविन गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहीबार १४:२६