८ असार २०८३, सोमबार | Mon Jun 22 2026

गोकियो तालमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन मध्ये एक बालकको शव भेटियो

२४ साउन, सोलु । सोलुखुम्बुको खुम्वु पासाङल्हामु गाउँपालिका स्थित गोकियो तालमा नुहाउने क्रममा डुवेर हराइरहेकाहरु मध्ये पेम्वा नोर्वु शेर्पाको शव बुधबार विहान सशस्त्र प्रहरी बल नेपालको गोताखोरले सो तालबाट निकालेको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा दुई जना गोताखोरसहित विपद व्यवस्थापन तालिम प्राप्त कूल पाँच जनाको एपीएफ टोली आवश्यक उद्वार सामाग्रीसहित मंगलबार बिहान खोजी तथा उद्वार कार्यको लागि हेलीकोप्टरद्वारा त्यसतर्फ प्रस्थान गरेको थियो ।

सो टोलीले बुधबार विहान ९ बजेर ४५ मिनेटबाट खोजी कार्य सुरु गरेको थियो । त्यसक्रममा गोताखोर टोलीले करीव २ घण्टाको अवधिमा हराई रहेका विद्यार्थीहरुमध्ये शेर्पाको शव तालबाट बाहिर निकाल्न सफल भएको हो ।

सोलुखुम्बु जिल्लाको खुम्वु पासाङल्हामु गाउँपालिका ४ स्थित खुम्जुङ माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरु सो ताल नजिक शैक्षीक भ्रमण गएकोमा तालमा नुहाउने क्रममा डुवेर हराएका थिए ।

सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहितको टोलीले डुवेर वेपत्ता भएका पेम्वादोर्जे शेर्पा र सुमन वराइलीको खोजीकार्य गरिरहेको छ ।

प्रकाशित मिति : August 9, 2018 at 8:12 am