८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

संसदमा एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

८ फागुन, काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको छ । एमसीसीका विषयमा गठबन्धनको बैठकमा पाँचै पार्टीका नेताहरूले आआफ्नो धारणा राखेका थिए। उनीहरूले यस विषयमा संसद्‌मै छलफल गर्न उपयुक्त हुने निष्कर्ष निकालेका हुन्।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिले एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा टेबल गर्ने कार्यसूची तय गर्ने भएको छ।

यसअघि गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले एमसीसी संसद्‌मा पेश गर्न नहुने बताउँदै आएका थिए। तर, नेकपा (एकीकृत समाजवादी) को शनिबार बसेको स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्‌मा टेबल गर्न नरोक्ने निर्णय गरेपछि दाहालमाथि दबाब परेको थियो।

आजको बैठकमा पाँचै दलले एमसीसी सम्झौतालाई संसद्‌‌मा टेबल गर्ने र त्यसमाथि बहस चलाउने सहमति गरेका हुन्। पक्ष वा विपक्षमा मतदान गर्न वा नगर्नेबारे सम्बन्धित दलले तय गर्नेछन्।

नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। त्यस्तै, माओवादीले यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा चाहिं संशोधन गर्नुपर्ने पक्षमा छन्। जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षमा मतदान गर्ने पक्षमा उभिएको छ भने अध्यक्ष उपेन्द्र यादव पक्ष संशोधन गर्नुपर्ने पक्षमा छ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने एमसीसी सम्झौताका विषयमा कुनै निर्णय गर्न सकेको छैन। यस विषयमा निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ।

प्रकाशित मिति : February 20, 2022 at 11:32 am