१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

तीनवटै उपसमितिले कार्यदललाई आआफ्नो प्रतिवेदन बुझाए

२३ साउन,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) को एकताको निम्ति गठित तीनवटै उपसमितिले कार्यदललाई आआफ्नो प्रतिवेदन बुझाएका छन् । अन्तरिम विधान मस्यौदा, राजनीतिक तथा शैक्षिक र संगठन समायोजन मापदण्ड उपसमितिले तयार पारेको प्रतिवेदन आज पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनुभएका कार्यदलका सदस्य रवीन्द्र अधिकारी, रमेश मल्ल, अनेरास्ववियू अध्यक्ष नवीना लामा र क्रान्तिकारी अध्यक्ष रञ्जीत तामाङलाई बुझाइएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रतिवेदन बुझ्दै नेता अधिकारीले उपसमितिले बुझाएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढाइने बताउनुभयो । कार्यदलका सदस्य मल्लले प्रतिवेदनका आधारमा भदौको पहिलो सातासम्ममा एकता पूरा गरिने जानकारी गराउनुभयो । विधान मस्यौदामा ४९९ सदस्यीय केन्द्रीय समितिको संख्या प्रस्ताव गरेको छ । अहिले ४९९ बनाउने भए पनि महाधिवेशनबाट भने १९९ सदस्यीय कमिटी बनाउने प्रस्ताव गरिएको छ ।

विधान मस्यौदामा केन्द्रीय कार्यालय, स्थायी कमिटी, केन्द्रीय सचिवालय र केन्द्रीय समितिसहितको तहगत संरचना प्रस्ताव गरिएको छ ।यस्तैगरी उपसमितिले संगठनको नाम के राख्ने भन्नेमा अझै कुरा मिलेको छैन । अनेरास्ववियू, अनेरास्ववियु (क्रान्तिकारी), अखिल नेपाल विद्यार्थी युनियन, एकीकृत अनेरास्ववियू जस्ता नाम छलफलमा आएको क्रान्तिकारी उपाध्यक्ष बस्नेतले बताउनुभयो । यसैगरी राजनीतिक शैक्षिक प्रतिवेदनमा जनवादी शिक्षाको क्षेत्रमा प्राप्त उपलब्धिलाई संस्थागत र कार्यान्वयन गर्दै समाजवादी शिक्षाप्राप्तिको दिशामा अघि बढ्ने साझा कार्यदिशा तय गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार २०:३८