प्रचण्ड र माधव कम्यूनिष्ट आन्दोलनका महाअपराधी हुनः महासचिव पोखरेल (भिडियोसहित)
७ फागुन, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कम्युनिष्ट आन्दोलनको महाअपराधी रहेको बताएका छन । नेकपा एमाले बागमती प्रदेशको हिजोबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा सम्बाेधन गर्दै महासचिव पोखरेलले प्रचण्ड माधवले वामपन्थीको नाममा पाएको जनमतलाई कांग्रेसमा लगेर बिक्री गरेको कारण महाअपराधी ठहर भएको बताए ।
‘दक्षिणपन्थी अवसरवादको आजको प्रतिनिधि पात्र भनेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल हो । वामपन्थी सरकार निर्माणका लागि दिइएको जनमतलाई कम्युनिष्ट सरकार ढालेर अर्को प्रतिक्रियावादीलाई बिक्री गर्ने काम प्रचण्ड माधवले गरे,’ महासचिव पोखरेलले भने, ‘त्यसकारण प्रचण्ड र माधव सामान्य अपराधी मात्रै होइनन, महाअपराधी हुन । यो कुरालाई निसंकोच भएर जनताको बीचमा लानुपर्छ ।’
‘प्रचण्ड र माधवतिर लागेका पालिकाका इमान्दार कार्यकर्तालाई एमालेमा ल्याउनु पर्छ तर प्रचण्ड र माधव पनि कम्यूनिष्ट नै हुन भनेर मिलाएर लान पाए हुन्थ्यो कि भन्ने दिगमागमा छ भने त्यो मानसिकता र दिमागबाट पार्टी निर्माण हुँदैन, जनताको माया पाईंदैन,’ पोखरेलले भने । उनले प्रचण्डको भ्रमजालमा परेर माओवादीतिर लागेका र माधवको अनुहार चिन्न नसकेर नेकपा एसतिर लागेका कार्यकर्ताको भने कुनै दोष नरहेको भन्दै एमाले भित्र्याउने अभियान थाल्न निर्देशन दिए ।
प्रकाशित मिति : February 19, 2022 at 11:08 am



