८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई फेरि सबल रूपमा अघि बढाउन चाहन्छाैँः अध्यक्ष ओली

७ फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई फेरि सबल रूपमा अघि बढाउन चाहेको बताएका छन । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै ओलीले पुनः सबल रूपमा अभियान अघि बढाउन चाहेको र देशमा नेपाली दाजुभाइ तथा दिदीबहिनीले साथ दिने अपेक्षा व्यक्त गरेका छन ।

अध्यक्ष ओलीले भनेका छन, ‘संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुयाइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सबल रुपमा अगाडि बढाउन चाहन्छौं । ’

पूरा सन्देश

आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहाँनिया राणा शासनको अन्त्य भएको दिन । २००७ साल फागुन ७ गते, आजकै दिनलाई नेपालको इतिहासमा हामीले उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं । जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।

प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने अमर शहीदहरु शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत सम्पूर्ण आदरणीय ज्ञात-अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर विहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौ ।

संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आम निर्वाचनबाट बनेको हाम्रो पार्टी नेकपा (एमाले)को सरकारले मुलुकलाई गरिवीवाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो । अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाएको थियो । जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधारभूमिमा टेकेर हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर थियौं ।

संविधानसभा मार्फत् जनताको संविधान निर्माण गरी तदनुरुपका संरचनालाई बलियो बनाउँदै हामी सुशासन र विकासको दिशामा अघि बढिरहेका थियौं । अर्थात्, हामीले प्रजातान्त्रिक आन्दोलन मार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहनालाई सफलताको दिशामा अभिमूख गराउन आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएका थियौं । नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहंदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्यको सदुपयोग गरेको थियो ।

संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुयाइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सबल रुपमा अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले)को यस अभियानमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको साथ रहने छ भन्ने मेरो विश्वास छ। जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुपति म पुनः एकपटक हार्दिक श्रद्धासुमन अर्पण गर्दछ । मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजूट भई योगदान गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछ ।

७ फागुन २०७०
केपी शर्मा ओली
अध्यक्ष

प्रकाशित मिति : February 19, 2022 at 10:56 am