१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

वीर अस्पतालको सफाइको नाममा धुर्मुस सुन्तली फाउण्डेसनलाई ६९ लाख अनुदान

२३ साउन, काठमाडौँ । सरकारले धुर्मुस सुन्तली फाउण्डेसनलाइ वीर अस्पताल सरसफाइको नाममा ६९ लाख ६८ हजार अनुदान दिएको छ । साउन १० को मन्त्रिपरिषद्को निर्णय अनुसार वीर अस्पतालले आफ्नै बजेटबाट अनुदानस्वरुप उक्त रकम फाउण्डेसनलाई निकासा गरेको छ ।

फेसबुकमा सार्वजनिक रुपमा वीर अस्पतालको नाममा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले विना कुनै कानुनी अाधारमा सहयोग (चन्दा) संकलन गरेपछि दैनिकीले एउटा समाचार प्रकाशन गरेको थियो । उक्त समाचार पछि तत्कालीन स्वास्थ्य राज्यमन्त्री पद्मा आर्यालले चन्दा नउठाउन आग्रह गर्दै आवश्यक परेको रकम सरकारले व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेकी थिएन । त्यसपछि पनि फाउण्डेसनले सहयोगको नाममा रकम त संकलन गर्यो तर फेसबुकमा त्यसको विवरण भने राखेको थिएन ।

सुरुमा वीर अस्पतालका अधिकारीले वजेटमा नभएको भन्दै फाउण्डेसनलाई पैसा दिन नसकिने बताएका थिए तर पछि तत्कालीन राज्यमन्त्री अर्यालकै पहलकदमीमा मन्त्रिपरिषद्सम्म फाइल पुगेर फाउण्डेसनले ६९ लाख ६८ हजार निकासा पाएको छ । उनले रंगरोगनमा ९९ लाख ७९ हजार चार रुपैयाँ खर्च भएको दावी गरेका छन् । जसमा २९ लाख ९२ हजार ६ सय ७४ रुपैया आफैँले रकम संकलन गरेको बताएका छन ।

उनले पेश गरेको खर्च विवरणमा ४३ लाख २२ हजार ४ सय ज्याला खर्च, १५ लाख १ हजार २ सय ८० खानारखाजा खर्च, ३९ लाख ६१ हजार ३ सय ७२ रंग खर्च, १ लाख ९३ हजार ९ सय ५२ यातायात, टेलीफोन, पानीलगायतमा खर्च भएको दाबी गरेका छन । वीर अस्पतालबाटै सफाइका निम्ति भुक्तानी दिलाएर सरकारले ठीक काम गरेको छ । वर्षेनी वीर अस्पतालले यस्ता शीर्षकमा खर्च गरे पनि परिणाम भने खर्च अनुसार देखिने गरेको थिएन ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १९:५३