१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोटमा १ हजार द्वन्द्वपीडितले पाए राहत रकम

२३ साउन, नुवाकोट । नुवाकोट जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् । जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो । द्वन्द्वका समयमा तत्कालीन सरकार र विद्रोही पक्षका कारण पीडित भएकाहरुलाई वितरण गर्न रु चार करोड २५ लाख ६५ हजार पठाइए पनि रु तीन करोड आठ लाख ५० हजार मात्र खर्च भएको जिप्रकाका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।

द्वन्द्वपीडितका लागि आएको राहतमा रु एक करोड १७ लाख १५ हजार फिर्ता भएको छ । “माग दावी पर्याप्त पर्न नआएका कारण रकम फिर्ता भएको हो । केहीको नाम र थर फरक भएकाले राहत प्रदान गर्न सकिएन”, प्रशासकीय अधिकृत शर्माले भन्नुभयो । सबैभन्दा बढी विस्थापित ९८७ जनाले राहत पाएका छन् । विस्थापितलाई रु २५ हजारको दरले राहत वितरण गरिएको हो । यस्तै अपहृत ५० जनाले पनि रु २५ हजारको दरले रकम पाएका छन् ।

जिप्रकाअनुसार मृतक र बेपत्ताका १४ परिवारले रकम पाएका छन् । एक जनाको परिवारले रु १० लाख र बाँकी १३ जनाका परिवारले जनही रु एक लाख ५० हजारका दरले राहत पाएका छन् । यस्तै द्वन्द्वपीडित टुहुरा बालबालिका २३ जनाले जनही रु ६० हजारको दरले पाएका छन् । यस्तै आठ अंगभंग भएकाहरुले रु पाँच लाख ९५ हजार २०० प्राप्त गरेको जिप्रकाका लेखाअधिकृत रामजी लम्सालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १७:१०