१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नुवाकोटकाे सूर्यगढीमा बङ्गुरपालनप्रतिको आकर्षण बढ्दै

२३ साउन,नुवाकोट । सूर्यगढी गाउँपालिकाका किसान बङ्गुरपालनमा आकर्षित हुन थालेका छन् । सूर्यगढी गाउँपालिका–३ फलाँटेमा किसान अचेल बङ्गुरपालनमा आकर्षित भएका हुन् । बङ्गुर भन्ने बित्तिकै दलित समुदायले मात्रै पाल्ने भन्ने परम्परालाई यहाँका गैरदलित समुदायका किसानले पनि पालेर आम्दानी गर्न थालेको अग्रसर कृषि सहकारी संस्थाका अध्यक्ष निशा अधिकारीले बताउनुभयो ।

किसानमा बङ्गुरपालनमा आकर्षित गराउन सहकारीले डेढ वर्ष अघि १२० सदस्यलाई बङ्गुरको पाठा उपलब्ध गराएको छ । प्रतिकृषक दुई÷दुई वटा पाठा उपलब्ध गराइएको थियो । बङ्गुरको प्रजनन र मासुका लागि बिक्रीबाट यहाँका कृषकको आयस्तर राम्रो बन्दै गएको हो ।महिलाको आर्थिक स्थिति सुर्धानको लागि शुरु भएको यो अभियानले सिँगै परिवार र समुदाय नै बङ्गुरपालनमा आकर्षित भएपछि आर्थिक अवस्थालाई टेवा पुग्न थालेको सहकारीका अध्यक्ष अधिकारीले बताउनुभयो ।

पालेको पाँच महिनामा नै प्रतिबङ्गुर रु ३५ हजारभन्दा बढी आर्जन हुन थालेपछि किसानले सहकारीले दिएकामा थप बङ्गुरका पाठा राखेर पालन गर्न थालेका छन् । अहिले यहाँमा १८० जना किसानले बङ्गुर पाल्न थालेका छन् । नुवाकोट र रसुवामा विभिन्न आयोजनाका लागि कार्यरत चिनियाँ नागरिकका कारण अहिले यहाँको बङ्गुरको भाउ पनि बढेको र मासु खपत भएको स्थानीय किसान कृष्णमान तामाङले बताउनुभयो । चिनियाँले बङ्गुरको मासु रुचाउने र त्यसको माग भएपछि त्रिशूलीदेखिका मासु व्यापारी फलाँटेसम्म बङ्गुर खरीदका लागि आउने गरेका छन् । प्रतिकेजी यहाँका कृषकले व्यापारीलाई खोरबाटै रु २८० मा बङ्गुर बिक्री गरिरहेको किसान तामाङले बताउनुभयो ।

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १६:१२