दुई गाउँपालिकाका अध्यक्ष सहित जसपा र माओवादीका एक हजार नेता कार्यकर्ता एमालेमा प्रवेश
२ फागुन, काठमाडाैँ । रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकाका अध्यक्षद्वय सनोज कुमार यादव र हिरा केवट (राहुल)सहित विभिन्न दलका एक हजार भन्दा बढी नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् ।
सोमबार नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् ।
यादव गत स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । त्यस्तै, ओमसतियाका अध्यक्ष राहुल भने नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।
ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीप कुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन् ।
एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, सचिव छबिलाल विश्वकर्मा, पोलिटव्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने लगायतले उनीहरुलाई एमालेमा स्वागत गरेका थिए ।
प्रकाशित मिति : February 14, 2022 at 6:58 pm









