एमालेले प्रधानन्यायाधीशविरूद्धको महाअभियोगको प्रतिवाद गर्ने, जनतालाई विपक्षमा उभिन आग्रह
१ फागुन, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको ठहर गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण घटना भएको भन्दै यसले लोकतन्त्रमाथिको प्रहार र नेपाली जनताको अधिकारमाथिको प्रहार भएको निष्कर्ष निकालेको हो ।

सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको एमाले निष्कर्ष रहेको एमाले महासचिव शंकर पोखरेलले बैठकपछि जानकारी दिए । स्थानीय तहको निर्वाचनलाई धकेल्ने षयडन्त्रस्वरुप पनि महाअभियोग आएको हुन सक्ने एमालेले शंका गरेको छ ।
महासचिव पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको जानकारी दिए । महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्नका लागि आवश्यक निर्णय गर्ने समेत बताए । त्यस्तै एमालेले सोमबार संसदीय दलको बैठक समेत बोलाएको छ ।
प्रकाशित मिति : February 13, 2022 at 8:53 pm









