३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सरकारले एमसीसी टेबुल गरे पनि नेकपा एमालेले संसदमा नाराबाजी गर्न नछाड्ने

२५ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग पूरा नहुँदासम्म संसदमा जे भए पनि आफ्नो बिरोधका कार्यक्रम निरन्तर अघि बढ्ने जनाएको छ । एमालेले सभामुखको गलत कदमको बिरोधमा संसद बैठकमा नाराबाजी गर्दै आएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन दलको बैठकमा पनि एमालेले आफ्नो अडान स्पष्ट ढंगले राखेको छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गनमनको विषयलाई प्रमुख एजेण्डा बनाएको छ ।

आइतबारको बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा उपस्थित भएर राष्ट्रिय सरोकारको विषयमा एमालेले छलफल गर्न चाहेको भएपनि त्यसका लागि सत्तापक्षले वातावरण बनाउन नसकेको बारे बैठकमा कुरा राखेको बताएका थिए ।

सभामुख सापकोटाको भूमिकाका कारण प्रतिनिधि सभामा उपस्थित हुन गारो परेको उनले बताए । सदनमा प्रमुख प्रतिपक्षीको उपस्थिति आवश्यक छ भन्ने सत्तापक्षले महसुस गर्छ भने आफूहरुको माग सम्बोधन गर्न आग्रह गरेको उनले बताए । सभामुखका तर्फबाट भएको कमजोरी सच्चाउने दिशातर्फ अघि बढे समस्या समाधान हुने उनले बताए ।

‘१४ जना गैर सांसदहरुलाई राखेर प्रतिनिधि सभा चलाउने काम भइरहेको छ त्यसलाई रोक्नु पर्छ। गैर सांसदको उपस्थितिमा प्रतिनिधि सभा अघि बढ्न सक्दैन’ बैठकपछि उनले भने, ‘दलले कारबाही गरेर व्यक्तिहरुलाई राखेर संसद चलाउने कुरा प्रति हाम्रो असहमति छ। त्यो कुरालाई रोक्न नसक्ने हो भने सभामुखले मार्ग प्रशस्त गर्नु पर्छ।’

प्रकाशित मिति : February 8, 2022 at 11:49 am