६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

युक्रेनमा अतिक्रमण गरे रसियाको ग्यास पाइप लाइन काटिदिन्छौंः राष्ट्रपति बाइडेन


२५ माघ, काठमाडाैँ । अमेरिकी राष्ट्रपति जोन बाइडेनले मस्कोले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम–२ बन्द गरिदिने चेतावनी दिएका छन् ।

करिब १,२०० किलोमिटर लामो साे ग्यास पाइपलाइन परियोजना बाल्टिक सागर हुँदै पश्चिमी रुसदेखि उत्तर–पूर्वी जर्मनीसम्म जान्छ । सन् २०१२ मा निर्माण सुरु गरिएको पाइप लाइन सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न भएको थियो । जर्मन चान्सलर ओलाफ सोल्जसँग वासिंगटनमा कुराकानी गर्दै राष्ट्रपति बाइडेनले नोर्ड स्ट्रिम–२ बन्द गरिदिने बताएका हुन् ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रो र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा हालै भएको भेटवार्ताको पृष्ठिभूमिमा अमेरिकी राष्ट्रपतिको भनाई सार्वजनिक भएको हो । सम्भावित युद्ध अन्त्य गर्ने विषयमा म्याक्रो र पुटिनबीच छलफल भएको थियो ।

रसियाले कुनै पनि बेला अतिक्रमण गर्न सक्ने पश्चिमेली देशहरुको त्रास छ । यद्यपी, रुसले युक्रेनमा तत्काल आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ । रसियाले युक्रेनसँगको सीमामा आफ्ना एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार ०९:०३