१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मिडिया सोसाइटीको नेतृत्व वामपन्थीकाे काँधमा, अध्यक्षमा एबीसी न्युजका शुभशंकर कँडेल निर्वाचित

२२ साउन, काठमाडाैँ । नेपाल मिडिया सोसाइटीको नेतृत्व वामपन्थीकाे काँधमा अाएकाे छ । साेमबार भएको साधारणसभाले अध्यक्षमा एबीसी न्युजका अध्यक्ष शुभशंकर कँडेललार्इ निर्वाचित गरेको छ । कँडेल नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीको यसअघि महासचिव थिए । कडेँल नेकपा निकटका मिडिया सञ्चालक हुन ।

सधारणसभाले सोसाइटीको उपाध्यक्षमा सगरमाथा टिभीका अध्यक्ष निर्मल गुरुङलाई निर्वाचित गरेको छ । यसैगरी, सोसाइटीको महासचिवमा अर्थिक अभियान दैनिकका प्रकाशन मदन लम्साललाई निर्वाचित गरेको छ । कार्यसमितिका अन्य पदाधिकारीहरुमा सचिवमा न्युज २४ का अध्यक्ष अनिल जोशी र कारोवार दैनिकका प्रवन्धक शिशिर भट्ट र कोषाध्यक्षमा फिल्मी टिभीकी निर्देशक निकिता पौडेल लाई निर्वाचित गरेको छ ।

साधारणसभाले प्राव्धान पूरा भएका सबै सञ्चारमाध्यमलाई सदस्यता दिने निर्णय गर्नुका साथै अन्य प्रसारक तथा प्रकाशसम्वन्धी संगठनहरुलाई समेत एशोशियट सदस्यका रुपमा समेट्ने प्रस्ताव समेत पारित गरेको छ । आगामी कार्यकालमा छिमेकी तथा अन्य देशका समकक्षी संगठनहरुसंगको सहकार्य अघि बढाउंदै दक्षिण तथा दक्षिण पूर्वी एशिया क्षेत्रमा मिडियाको विकास, समस्या र चुनौतिका विषयमा विशेष बहस, छलफल तथा कार्याशाला गोष्ठीहरु समेत गर्ने निर्णय भएको अध्यक्ष कँडेल बताएका छन ।

साधारणसभालाई पूर्वअध्यक्ष तथा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्र्देशक कैलास सिरोहिया लगायतका व्यक्तित्वहरुले मिडियालाई स्वच्छ, स्वतन्त्र र मर्यादित व्यवसायका रुपमा अघि बढाउन सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए । हाल नेपाल मिडिया सोसाइटीमा मूलधारका १७ वटा प्रकाशन तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्थाहरु सदस्य रहेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७५, मंगलवार ०८:०९