राष्ट्रियसभामा फेरि पनि एमाले पहिलो दल बनेको छः महासचिव पोखरेल
१३ माघ, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बुधबारको राष्ट्रियसभा निर्वाचनपछि पनि एमाले पहिलो दलकै रूपमा स्थापित रहेको प्रतिक्रिया दिएका छन । सामाजिक सञ्जाल मार्फत उनले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको पनि टिप्पणी गरेका छन ।
उनले भनेका छन, ‘किनकी वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् । तर पनि यस निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् ।’
महासचिव पोखरेलले नेकपा(एमाले)का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढिमत प्राप्त गर्न सफल भएको बताएका छन । स्थानीय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा(एमाले)का उम्मेद्वारलाई प्राप्त भएको उनले बताएका छन ।
महासचिव पोखरेलले भनेका छन, ‘यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ । गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् ।’
उनले अब हुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा(एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको बताएका छन । उनले भनेका छन, ‘परिणाम प्रतिकुलहुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा(एमाले)का उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद ।’
प्रकाशित मिति : January 27, 2022 at 9:18 am









