बैतडीमा ढुंगाले लागेर सैनिकको मृत्यु
२० साउन ,बैतडी । ढुंगाले लागेर बैतडीमा आज एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–४ कपिन्ना जसमलाका ३० वर्षीय नारायणदत्त भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।गाउँ नजिकै रहेको पानीको मुहानमा पाइप जोडिरहेका बेला माथि भिरबाट खसेको ढुंगाले लागेर भट्टको मृत्यु भएको हो ।
दिउँसो १२ः४५ बजेतिर पाइप जोडिरहेका बेला मुहानको माथिबाट खसेको ढुंगाले भट्टको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिदामा घर आएका भट्ट नेपाली सेनाका चार नम्बर बाहिनी नेपालगञ्जमा कार्यरत हुनुहुन्थ्यो । भट्टको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : August 5, 2018 at 8:12 pm









