१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एउटा पक्की घर बनाउन खनेको माटो पहिरोमा परिणत हुँदा ९ जनाको ज्यान गयो

२० साउन, काठमाडौँ । जाजरकोटमा एउटा पक्की घर बनाउन खनेको माटो पहिरोमा परिणत हुँदा ९ जनाको ज्यान गएको छ । जाजरकोटको भेरी नगरपालिका–३, ठाँटी बजारमा आइतबार बिहान गएको पहिरोमा परि नौ जनाको ज्यान गएको छ । पहिरोको प्रकृति हेर्दा तीन तले पक्की घर बनाउनका निम्ति खनिएको माटो पहिरोमा परिणत हुँदा ती नौ जनाले ज्यान गुमाउनु परेको हो ।

पक्की घर बनाउन खनेको माटो पहिरो बनेर बग्दा तिर्थबहादुर बोहोरा र गोपाल सुनुवारको घर पुरिँदा नौँ जनाको ज्यान गएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार तिर्थराज बोहराको घरमा भाडा गरी बस्ने लालबहादुर लोहारका श्रीमती र तीन छोरीको घटनास्थलमा नै ज्यान गएको छ ।

लालबहादुर लोहार भने सामान्य घाइते भएका छन । उनकी श्रीमती सितली लोहार, छोरीहरु १० वर्षकी रञ्जना लोहार, सात वर्षकी मनिषा लोहार र तीन वर्षकी भगवती लोहारको ज्यान गएको छ । तिर्थराज बोहराकी आठ वर्षीय छोरी नन्मा बोहराको पनि घटनास्थलमा ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

त्यस्तै गोपाल सुनुवारको घरमा भाडा गरी बस्ने माया परियारका दुई भाइहरुको पनि घटनास्थलमा नै ज्यान गएको छ । माया परिवारका भाइ दशरथ परियारको शव फेला परेको छ भने अर्का भाइको शव अझै फेला नपरेको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । त्यस्तै गोपाल सुनुवारको घरमा खेल्न आएका दुई बालक १३ वर्षका नरेन्द्र परियार र १० वर्षका नविन परियारको पनि घटनास्थलमा ज्यान गएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७५, आईतवार १७:४२