बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुन्छः मन्त्री थापा
१९ साउन,भक्तपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताउनु भएको छ ।
आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा उहाँले १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै गरे पनि सर्वश्वसहित जन्मकैदको सजाय हुने बताउनुभयो ।
महिलाको अधिकार र संघर्षका माध्यमबाट ऐतिहासिक आन्दोलन सफल भएको बताउँदै उहाँले महिलाले गरेको आन्दोलनका कारण नेपालमा परिवर्तनका अधिकांश ढोकाहरु खुलेको बताउनुभयो ।
मन्त्री थापाले नेपालको धर्म, संस्कृति, परम्परा, रूढीवादी संस्कारका कारण अहिले पनि महिलाहरु दोस्रो दर्जाका रुपमा रहनु परेको भन्दै तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस प्रकारका संस्कारहरुको अन्त्य गर्न आ–आफ्नो तवरबाट पहलकदमी चलाउँदै कानूनी प्रक्रियाबाट अघि बढ्न आग्रह गर्नुभयो ।
वर्तमान सरकार दुई तिहाइ हाराहारीको जनताले दिएको मतबाट निर्माण भएको स्थिर सरकार भएकाले महिलाको हक, अधिकारका निम्ती मन्त्रालयका तर्फबाट आवश्यक कानून निमार्णको प्रक्रियामा रहेकाले निर्वाचित जनप्रतिनिधिहरुले हातमा हात काँधमा काध मिलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संघको इञ्चार्ज राधा ज्ञावलीले निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवक भई अँध्यारोमा बत्तीको उज्यालो झैँ काम गर्न आग्रह गर्नुभयो । त्यस्तै उहाँले जहाँ जनचाहना अनुसारको विकास निमार्णका इच्छा त्यहाँ काम भन्ने सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अमृता थापाले महिलाको हक र अधिकारका निम्ति कानून निमार्णको चरणमा रहेको र कानून निर्माणपश्चात् कडाइका साथ कार्यान्वयन हुने बताउनुभयो ।
संघकी पूर्वअध्यक्ष शान्ति मानवीले कानूनमा लेखिएका तर व्यावहारिकतामा प्रयोग नभएका महिलाका हक र अधिकारलाई व्यावहारिक रुपमा लागू गर्नुपर्ने बताउनुभयो । उहाँले महिला मुक्तिको आन्दोलनमा एक ढिक्का भई अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
प्रकाशित मिति : 19:30









