२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

यथास्थितिमा एमालेले एमसीसी पास हुन नदिने, छ महिनामा सरकारको उपलब्धि शून्य

२९ पुस, काठमाडाैँ । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल उपलब्धिविहीन रुपमा व्यतित भएको टिप्पणी गरेका छन ।

बिहीबार काठमाडाैँमा भएको एक अन्तरक्रियामा भट्टराईले प्रधानमन्त्री देउवालाई मन्त्रिमण्डललाई पूर्णता दिन नै तीन महिना समय लागेकोले ६ महिनाको अवधिमा उपलब्धिमूलक काम हुनै नसकेको बताए ।

भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पारे । उनले वर्तमान सरकार बनेपछि अदालतभित्र चरम गुटबन्दी भएको पनि बताए । भट्टराईले आफ्नो पार्टी संसदीय व्यवस्था र अहिलेको राजनीतिक व्यवस्थाको लागि सदैव दृढ भएर उभिने बताए ।

साक्षात्कारमा कांग्रेसका केन्द्रीय रामहरि खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको ६ महिने कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरे । सरकारले संविधानलाई सही ट्रयाकमा ल्याउने काम गरेको र विकास निर्माणको काम पनि द्रुत गतिमा गरेको उनको भनाई छ ।

त्यस्तै सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद सोमप्रसाद पाण्डेले वर्तमान सरकारले संविधान बचाउनको लागि महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै  बलिदानीपूर्ण संघर्षबाट ल्याएको व्यवस्था र संविधान बचाउन सरकार पूर्णरुपमा सफल भएको जिकिर गरे ।

उनले अाफ्ना सम्धी समेत रहेका माधव नेपालगायत १४ जना सांसदको कारबाहीको विषय उठाएर एमालेले सदनमा बालहठ देखाएको जिकिर गरे ।

प्रकाशित मिति : January 13, 2022 at 6:10 pm