११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा

१९ साउन,काठमाडौँ  । नेपाली युवा विद्यार्थी आफुले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्न जुटेका छन् । आगामी भदौ ९ गते भियतनामको निङविङमा आयोजना हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा आफूले निर्माण गरेका रोबोटको प्रदर्शनीमा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी जुटेका हुन् । प्रतियोगितमा एसिया¬–प्रशान्त क्षेत्रका चीन, जापान, इजिप्ट, रुसलगायत विभिन्न २० मुलुकको सहभागितामा रहनेछ ।

प्रतियोगितामा भाग लिन इञ्जिनियरिङ अध्ययन संस्थाको रोबोटिक्स क्लबबाट नेपालको प्रतिनिधित्व गर्दै १६ विद्यार्थी भियतनाम प्रस्थान गर्ने भएका छन् ।प्रतियागिताको पूर्वावलोकनका रुपमा शुक्रबार पुल्चोक क्याम्पसमा नेपाली युवा विद्यार्थीले निर्माण गरेका रोबोटको प्रदर्शनी गरेका थिए ।

एउटा स्वचालित र अर्को मानवले सञ्चालन गर्ने रोबोट प्रतियोगितामा नेपालले भाग लिने जसमा रोबोटले सहकार्य गरी कपडाका गोलालाई पोलमा रहेको गोलो घेराभित्र छिराउनु पर्नेछ ।प्रदर्शनीको अवलोकनपछि इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा डा त्रिरत्न बज्राचार्यले प्राज्ञिक क्षेत्रमा अनुसन्धानको महत्वमाथि जोड दिनुभयो ।

यसअघिको प्रतियोगितामा पनि दक्षिण एसियाकै उत्कृष्ट प्रदर्शन गर्दै आएको र विभिन्न समयमा पुरस्कार जितेको नेपाली टोलीसमक्ष यसपालि प्रतियोगिता नै जित्नुपर्ने चुनौती पनि थपिएकोे छ ।

प्रकाशित मिति : 14:34