नेपाल बैंकद्वारा स्वर्ण पदक विजेता विद्यार्थीलाई सम्मान
२१ पुस, काठमाडाैँ । नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्नातकोत्तर तहमा सर्वोत्कृष्ट स्थान हासिल गरि नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गर्न सफल विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपुरबाट स्नातकोत्तर तह उत्तिर्ण रामप्रसाद खरेललाई त्रिभुवन विश्वविद्यालयको ४७ औं दिक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेर बहादुर देउवाले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्रदान गरेका थिए।
वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरि सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सर्वोत्कृष्ट हुनेलाई प्रत्येक वर्ष त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहको दिन प्रदान गरिन्छ।

नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले पदक विजेता खरेललाई बधाई ज्ञापन तथा सम्मान गरेका थिए।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल बैंकको नाममा स्थापित नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंक लिमिटेडको गरिमा बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्न शुभकामना व्यक्त गरेका थिए।
प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार १२:४८










