२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

माओवादीको महाधिवेशन उद्घाटनमा ओलीलाई फाेनमार्फत प्रचण्डकाे निम्ता

११ पुस, काठमाडाैँ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आजदेखि सुरु हुने राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफैँ फोन गरेर अतिथिको रुपमा निम्ता गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि दुई नेताको सम्बन्ध तिक्ततापूर्ण रहँदै आएकोमा प्रचण्डले ओलीलाई आफैँ फोन गरेर निम्ता गरेका हुन् ।

प्रचण्डलाई एमालेको महाधिवेशनमा निम्ता गरे पनि उनी सहभागी भएका थिएनन् । पार्टी विभाजनपछि दुई नेता पहिलोपटक नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सँगै देखिएका थिए । प्रचण्डले फोन गरेर निम्ता गरेपछि जवाफमा अध्यक्ष ओलीले आफू झापामा भएको र कार्यक्रममा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेललाई पठाउने बताएका थिए । एमालेको महाधिवेशनमा माओवादीले लीलामणि पोखरेललाई सहभागी हुन पठाएको थियो ।


यसअघि उद्घाटन सत्रमा कसैलाई नबोलाउने बताएको माओवादीले अन्तिम समयमा देशका प्रमुख राजनीतिक दलहरूलाई सहभागी हुन निम्ता पठाएको छ । उद्घाटन सत्रमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुने तय भएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रमकाे समय सारेर ३ बजेदेखि सुरु हुने भएको छ ।

प्रकाशित मिति : December 26, 2021 at 11:06 am