२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

समुहस्वार्थकाे राजनीतिबाट सन्यास लिएर सम्मानकाे पात्र बन्न मोहनविक्रमलाई सूर्य थापाको सुझाव

८ पुष, काठमाडाैँ । नेपका एमालेका पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापाले नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई समुहस्वार्थकाे राजनीतिबाट सन्यास लिएर सम्मानकाे पात्र बन्न सुझाव दिएका छन् ।

बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले गृहजिल्ला प्युठानमा पुसको चिसोमा ८७ वर्षको उमेरका बृद्ध नेता मसालको पनि एउटा गुटको भेला गर्दै हिँडेकोमा आफूलाई दया लागेको बताएका छन् । उनले पछिल्लो पिँढीका कम्युनिस्ट कार्यकर्तालाई मोहन विक्रमको हविगत देख्दा दुःख लागेको समेत बताएका छन् ।

उनले पुसकाे चिसाेमा आफ्नो राम्रो ख्याल गर्न र समुहस्वार्थको राजनीतिबाट सन्यासको घोषणा गरेर सबैको साझा सम्मानको पात्र बन्न सुझाव समेत दिएका छन् ।  पटक-पटक विभाजन भएको नेकपा मसाल अस्तित्व रक्षाको अन्तिम संकटमा गुज्रिरहेको र अब जोगिने स्थिति नरहेकाले यस्तो राजनीतिबाट सन्यास लिन थापाले मोहनविक्रमलाई आग्रह गरेका हुन् ।

यस्ताे छ थापाकाे स्टाटसः

८७ बर्षकाे उमेरमा कठैबरा याे दु:ख !
नेकपा मसाल फेरि फुट्याे । याे कतिओैं पटककाे फुट हाे ? गनिसाध्ये छैन। २०३१ सालयता नेकपा चाैमबाट निर्मल लामा, माेहनविक्रम सिंह र माेहन वैद्यकाे नेतृत्वमा फुट भयाे । २०४२ मा पार्टी विभाजन गरी सिंह-केसीले नेकपा मसाल बनाइसकेपछि विभिन्न समयमा त्यस पार्टीबाट मणि थापा र भरत दहालकाे साथमा डाइनामिक युथ लिग, हरिबाेल गजुरेल, टाेपबहादुर रायमाझी र डा. बाबुराम भट्टराईकाे नेतृत्वमा, दिनानाथ शर्माकाे नेतृत्वमा अर्काे समुह, रामसिंह श्रीष, परि थापा र नवराज सुवेदीकाे नेतृत्वमा अर्काे समूह तथा डिलाराम आचार्य र गिरिधारीलाल न्याैपानेहरूकाे नेतृत्वमा अर्काे हिस्सा गरी पटकपटक विभाजन भएकाे इतिहास छ । र,अहिले गाेविन्दसिंह थापा, सन्तबहादुर नेपाली र विमल शर्मा लगायतकाे नेतृत्वमा पछिल्लो तर भयानक ठूलाे विभाजन भएको छ। यस पटककाे विभाजनमा केही महत्त्वपूर्ण र सही कारण एवं विश्लेषण छन्।

यही विभाजनकाे असरलाई चिर्न ८७ बर्षकाे उमेरमा महामन्त्री माेहनविक्रम सिंह प्यूठानमा घरदैलाे र वडा भेलाहरू गर्दै हिडिरहनुभएकाे छ! महामन्त्रीलाई यस्ताे चटारो आफैमा नमिल्दो देखिन्छ। यस्ताे दु:ख स्थानीयले किन दिएका हाेलान् ? कुरा यत्ति हाे कि दक्षिणपन्थी राजनीति र पारिवारिक क्लबमा परिणत पार्टीको आजकाे स्थितिप्रति हामीलाई केही भन्नुु छैन।

याे स्वभाविक परिणाम हाे । यस विभाजनमा कथित पाँच टुक्राहरूकाे गठबन्धनमा सहभागी राष्ट्रिय जनमाेर्चाकाे एक बर्षयता जारी अराजनीतिक, स्वार्थी र जनादेशविपरित परमादेशकाे पक्षधरताप्रति तमाम प्रश्न उठाएर त्यसकाे खिलाफमा भएको विभाजन सही र जायज छ।
हुन त २०१० सालअघि माेहनविक्रम सिंह मातृकाप्रसाद काेइरालाकाे राष्ट्रिय प्रजा पार्टी र त्यसअघि नेपाली काँङ्ग्रेसमा हुनुहुन्थ्यो । ६७ बर्षपछि उहाँको राजनीति २०१० अघिकै सेराेफेराेमा पुगेकोमा चाहिँ आश्चर्य र दिक्क लाग्छ। उग्रवामपन्थी राजनीतिकाे पतन दक्षिणपन्थमा पुगेर हुने उहाँकाे प्रशिक्षण लिएकाहरूलाई त थप केही संझाइरहनु नपर्ला नै।

२०७४ काे आम निर्वाचनमा माेहनविक्रम सिंह वामपन्थी मत, मुख्यतः नेकपा एमालेकाे सहयाेगमा आफ्नी श्रीमती दुर्गा पाैडेललाई प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित गर्ने गठबन्धनमा हुनुहुन्थ्यो र प्यूठानमा स्वयं चुनाव प्रचारप्रसारमा यसैगरी सक्रियताका साथ लाग्नुभएको थियाे। तर त्याे विश्लेषण र गठबन्धनकाे घाेषणाविपरित गण्डकी र लुम्बिनी प्रदेश तथा संघीय सरकार ढाल्न प्रयाेग भएर यतिखेर देउवा सरकारकाे नि:शुल्क सारथि र बैशाखी बन्दै उहाँकै नेतृत्वमा वामपन्थी जनमतलाई विश्वासघात गरिएको छ।

जनतामा जानुलाई कथित प्रतिगमन भन्ने भ्रान्त विश्लेषणकाे शिकार नेकपा मसाल बनेकाे छ। यही गलत राजनीतिविरूद्द समेत पछिल्लो याे फुट भएको छ। खासमा राजनीति बेठीक हुँदा नै सबै चिज बेठीक हुने हाे। पार्टी त यसरी नै फुट्छ, कार्यकर्ता र जनताले पनि छाड्छन् नै । अहिले यही त भएको हाे।

यति धेरै पटक विभाजन भएर अस्तित्व रक्षाकाे अन्तिम संकटमा गुज्रिरहेकाे समूह अब किमार्थ जाेगिने स्थिति छैन। कमरेड पुष्पलालले संयुक्त जनआन्दाेलनकाे नीतिअन्तर्गत नेपाली काँग्रेससँग सहकार्य गरी पञ्चायत फाल्न जाेड दिनुहुँदा ‘गद्दार पुष्पलाल’ लेख्नुहुने आनन्दबहादुर क्षेत्री उर्फ माेहनविक्रम सिंहलाई आज आफू र आफ्नाे समुहकाे कम्युनिस्टविराेधी र देउवापरस्त साेंचाइ, नीति र व्यवहार स्वयंलाई कस्ताे लागिरहेकाे हाेला ?

नेपालकाे कम्युनिष्ट आन्दाेलनमा हामीजस्ता पछिल्लो पिढींका कार्यकर्ताहरूलाई कामरेड माेहनविक्रम सिंहकाे याे हविगत दु:खदायी लागेकाे छ। उहाँको महामन्त्री पदकाे जिम्मेवारी नै मेराे सिंगाे जीवन बराबरी अर्थात ४७ बर्ष पुगेकाे छ। तर असफलता, विभाजन र एक्लाेपन – आज उहाँको परिचय भएको छ।

व्यक्तिगत र मानवीय रूपमा म उहाँलाई अनुराेध गर्न चाहन्छु- पुसकाे चिसाेमा आफ्नाे राम्राे ख्याल गर्नुस, आराम गर्नुस र समुहस्वार्थकाे राजनीतिबाट अब सन्यासकाे घाेषणा गर्नुस र हामी सबैकाे साझा सम्मानकाे पात्र बन्नुस। तपाईंको नेतृत्वमा क्रान्ति त भएन नै, परिवर्तनकाे कुनै आन्दोलनको नेतृत्व गर्न सक्नुभएन । राष्ट्रकाे समृद्धि र जनताकाे जीवनमा खुशियाली ल्याउन त झनै संभव भएन । अब याे वास्तविकतालाई त स्वीकार्नुस। तपाईंलाई स्वीकार्न अप्ठ्यारो परेकाे वस्तुगत यथार्थ यही हाे।

ओखरकाेटमा नयाँ घर बनाउनुभएकाे थाहा पाउँदा खुशी लागेकाे छ। बरू त्यहीं भेट गर्न बाेलाउनुस। तपाईंका कुरा सुन्न र भेट्न चाहनेहरू आइहाल्छन्। यसाे गर्नु नै उपयुुक्त हाेला। उमेर, अवस्था र स्वास्थ्य ख्याल गर्नुस। झिमरूकका अध्यक्ष तिलक जिसीजी यसाे गरे कसाे हाेला?

प्रकाशित मिति : December 23, 2021 at 1:03 pm