२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

कांग्रेससँग रुपान्तरणको सन्देश दिनुको विकल्प छैनः महामन्त्री शर्मा

५ पुस, काठमाडाैँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले व्यवहारबाट सामाजिक रुपान्तरणको सन्देश दिनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गर्नुभएको छ । कांग्रेसको १४औँ महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समाज रुपान्तरण गर्ने कार्य कुनै दलका लागि मात्र नभइ समग्र राष्ट्रका लागि आवश्यक रहेको बताउनुभयो ।

“देश बनाउन भौतिक विकाससँगै सामाजिक रुपान्तरण पनि अपरिहार्य छ । समाजमा विद्यमान कुरीतिका साथै बालहिंसा, घरेलु हिंसा, एसिड आक्रमणलगायत विकृति अन्त्य गर्नु सबैको साझा दायित्व हो”, महामन्त्री शर्माले भन्नुभयो ।

कांग्रेस १४औँ महाधिवेशनमा पार्टी पदाधिकारीमा ठूलो नेतृत्वपङ्ति बाहिर रहेको अवस्था दर्शाउँदै उहाँले त्यसलाई संयोजन गर्ने दायित्व सभापतिका साथै आफ्नो पनि रहेको उल्लेख गर्नुभयो । तीन वर्ष कांग्रेसको प्रवक्ताको जिम्मेवारी सम्हालीसक्नुभएका उहाँले आगामी दिनमा पनि मिडियामैत्री भएर आफ्ना काम कारबाही सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फरक प्रसङगमा महामन्त्री शर्माले नेपालको संविधानले व्यवस्था गरेको प्रेस स्वतन्त्रतालगायत जनताका मौलिक हकका पक्षमा आफू सदैव अडिग रहेको बताउँदै कुनै पनि मुलुकमा रहेको स्वतन्त्र मिडिया र दलगत प्रतिस्पर्धाले नै त्यस मुलुकको प्रजातन्त्रको स्तर निर्धारण हुने उल्लेख गर्नुभयो । पचास वर्षीय उहाँ कांग्रेसको हालै सन्पन्न १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति : December 20, 2021 at 2:41 pm