२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमसीसी पास भए नेपाल र नेपालीको स्वतन्त्रता र अस्तित्व समाप्तः एमाले नेता रावल

२ पुस, अछाम । नेकपा एमालेका नेता डा.भीम रावलले एमाले रक्षाकालागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ । गृह जिल्ला अछाममा रहनु भएका नेता डा रावलले आज बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको हो ।

तर, कसैले पाखा लगाउन खोजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने उहाँको चेतावनी छ । नेकपा एमाले बान्नीगढी जयगढ गाउँपालिका सङ्गठन कमिटीका उपाध्यक्ष गणेश साउदको अध्यक्षतामा भएको कार्यकर्ता भेला कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नेता डाक्टर भीम रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गर्नुभयो ।

यस अघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताउनु भएको थियो । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको उहाँले बताउनुभयो ।

विगतमा पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला आफूले पार्टी भित्रका समस्या समाधानका लागी विद्रोह गरेको तर पार्टी हित विपरीत कार्य नगरेको दाबी गर्नुभयो । एमालेको नेतृत्वले फरक मत राख्ने नेतालाई मिलाउन नसक्दा पार्टी भित्रका केही नेता चोइटिएर गएको बताउनुभयो । साथै नेता रावलले माधव नेपालले पार्टी फुटाएर नेपाली जनता प्रति गद्दारी गरेको आरोप लगाउनु भयो ।

पार्टी अध्यक्ष ओली र नेता माधव नेपालले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्दा पार्टी धेरै नेता कार्यकर्ता अन्यायमा पारेको बताउनुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता रावलले नेकपा एमालेमा रहेको विवाद समाधान गर्न र पार्टीलाई सुदृढीकरण गर्न आफूले अध्यक्ष पदमा उम्मेदवार दिएको तर आन्तरिक प्रतिस्पर्धामा पराजित भएको बताउनु भयो ।

चुनावमा हार जित स्वाभाविक रहेको भन्दै नीति र राजनीतिमा नहारेको दोहोर्‍याउनै जनतालाई कत्ति पनि विचलित नभएर जनताको माझमा आएको बताउनुभयो ।

आफूले झन्डै ५० वर्ष काम गरेको बताउँदै पराजित भएको भन्दै मन नखुम्चाउन आग्रह गर्दै जनतालाई कत्ति पनि विचलित नहुन आग्रह गर्नुभयो । यस्तै नेता रावलले एमसिसि परियोजनालाई चोर बाटो बाट पास गर्न खोजिएको आरोप लगाउनु भएको छ ।

नेपालमा एमसीसी परियोजना पास भए नेपाल र नेपाली जनताको स्वतन्त्रता र अस्तित्व नरहने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले आगामी निर्वाचनमा जित्ने गरी नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीकै कार्यकर्ता बिच मतभेद हुँदा विपक्षीले सत्ता हातमा लिए परिणाम राम्रो नआउने भन्दै सचेत हुन आग्रह गर्नुभयो । आगामी दिनमा पार्टीमा जिम्मेवार व्यक्तिलाई नेतृत्व तहमा पुर्‍याउनु मतदाताको कर्तव्य रहेको भन्दै गुट उपगुटमा नलाग्न आग्रह गर्नुभयो ।

आगामी निर्वाचनमा नेकपा एमालेलाई विजयी गराउन तर्फ लाग्न निर्देशन । नेकपा एमाले बान्नीगढी जयगढ गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा जिल्ला कमिटी सदस्य चन्द्र बोहरा, जयन्द्र बहादुर स्वाँर, वडा नम्बर ५ का वडाध्यक्ष लाल कामी लगायतले बोल्नुभएको थियो ।

पालिका कमिटी सदस्य झपटराज ढुङ्गानाले सवागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन पालिका कमिटी सचिव लोक बहादुर ठकुल्लाले गर्नुभएको थियो ।

प्रकाशित मिति : December 17, 2021 at 6:27 pm