२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

मिनेन्द्रको चलाखीः देउवाले बर्खास्त गर्नुअघि नै रक्षामन्त्रीबाट राजिनामा (भिडियोसहित)

१ पुस, काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित डा मिनेन्द्र रिजालले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीबाट हटाउनु अघि नै राजिनामा दिएका छन । महामन्त्रीमा पराजय भएको बाहना बनाउँदै उनले रक्षामन्त्रीबाट राजिनामा दिएका हुन ।

उनले राजिनामा दिनुको मुख्य दुईवटा कारण रहेको छ । पहिलो देउवाविरूद्धको अभिव्यक्तिः डा रिजालले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सुरूभएपछि शेरबहादुर देउवा निवर्तमान सभापति हुने घोषणा गरेका थिए । उनले यतिधेरै ढुक्कताका साथ भनेका थिएकी देउवा फेरि कांग्रेस सभापति बन्ने छैनन् । तर मतपरिणामले देउवा नै सभापतिमा निर्वाचित भए ।

त्यसपछि रिजाल नैतिक रूपमा संकटमा थिए । रिजालले १४ औँ महाधिवेशनपछि देउवा निवर्तमान हुन्छन भनेर सार्वजनिक सञ्चार माध्यममा गरेको घोषणा देउवा र उनका समर्थक सबैले सुनेर रेकर्ड रूपमा रखेका समेत थिए । जसले गर्दा महाधिवेशनको पूर्ण परिणाम सार्वजनिक भएपछि देउवाले बर्खास्त गर्छन भन्ने भय रिजालमा थियो ।

दोस्रो प्रकाशमानसँग देउवाको सम्झौताः सभापति चयनका लागि दोस्रो चरणको मतदान हुनुअघि नै गृहमन्त्री बालकृष्ण खाँडले सभापतिमा पराजित भएका नेता प्रकाशमान सिंहकोमा उपप्रधानसहित वरिष्ठ मन्त्रीको प्रस्ताव बोकेर गएका थिए । उनले लगेको प्रस्ताव कार्यान्वयनका लागि रिजाललाई हटाउने विषयमा देउवा समूहमा करिब सहमति समेत बनेको थियो ।

सिंहले उधारो प्रस्ताव नमान्ने बताएपछि देउवा आफैँ सिंहको निवासमा पुगेर खाँडले राखेको प्रस्तावलाई नगद बनाउनेबारे वचन दिएका थिए । देउवाको आश्वासनको समाचार सम्पूर्ण मिडियामा समेत आएको थियो । त्यसपछि डा रिजालले पनि अब आफू मन्त्रीको रूपमा सुरक्षित नरहेको महशुष गरेका थिए ।

संयोग नै मान्नुपर्छ उनी महामन्त्रीमा लज्जास्पद हार व्यहोर्ने अवस्थामा पुगे । त्यसपछि उनले हतार हतार उच्च नैतिकताको प्रचार गर्ने गरी रक्षामन्त्रीबाट आफ्नो राजिनामा हुने कुरा घोषणा गरे । रिजाल कांग्रेसभित्र त्यति लोकप्रिय नेता हैनन्, तर गुटका लागि प्रिय बन्ने गरेका छन । उनी कांग्रेसको १३ औँ महाधिवेशनमा पनि २५ जना खुला केन्द्रीय सदस्य मध्ये अन्तिम सदस्यको रूपमा विजयी भएका थिए ।

महामन्त्री पदमा पराजित भएपछि मन्त्री रिजालले विहिबार अपरान्ह रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री पदबाट राजीनामा गरेकोबारेमा स्पष्टिकरण दिए । उनले लामो राजनीतिक जिवनबाट आर्जन गरेको सम्पत्ति “राजनीतिक पूँजी” बचाईराख्न रक्षामन्त्री पदबाट राजीनामा गरेको स्पष्ट गरे । रिजालले भावावेशमा नभई राजनीतिक सम्पत्ति गुमाएँ कि भन्ने लागेर आफुले राजीनामा गरेको दाबी गरे । आफु राजनीतिमा हारेको वा थाकेको सिपाही नभई दृढ निश्चयका साथ अघि बढ्न सक्ने आत्मविश्वासका साथ उभिएको पनि उनले बताए ।

रिजालले भने “राजनीतिक सम्पत्ति गुमाएँ कि जस्तो लाग्यो । मैले निर्वाचन हारेको मात्रै होइन । त्यसैले पनि राजनीतिक पूँजी बचाएर राख्नुपर्छ भन्ने लागेर नै यो राजीनामा गरेको हो । अहिलेको निर्णय रक्षामन्त्री पदबाट राजनीनामा दिने निर्णय मात्रै हो । त्यो भन्दा अगाडि के हुन्छ सोचेको छैन । राजीनामा भन्दा पनि बढी गम्भीर व्यक्तिगत जीवनमा उतारचढाव होला तर कांग्रेस निश्चल बगिरहन्छ । यसले आफ्नो जिम्मेबारी पुरा गर्न सक्छ भन्ने गहिरो भाव र निश्चय भावका साथ म अगाडिको निर्णय गर्न सक्ने ठाउँमा उभिएको छु जस्तो लाग्छ । मैले यो विषयमा कसैसंग सल्लाह गरेको छैन । भावावेशमा होइन । सार्वजनिक जीवनमा बसिन भने पनि व्यक्तिगत जीवनमा पनि मलाई सन्तुष्ठी हुने ठाउँ चाहिन्छ । कतिपयलाई लाग्यो मिनेन्द्र इमोसनमा पुगेर, झण्डै ६५ बर्ष पुग्न लागेको मान्छेलाई इमोसनलको कुरा के छ र ? आत्माश्साघा भन्नुहोला । आत्मविश्वास त छ । मन्त्री रहेर/नरहेर क्रियाशिल राजनीतिमा रहेर/नरहेर म दृढ निश्चयको भावमा उभिएको छु । राजनीतिमा हारेको, थाकेको सिपाही होइन । ”

प्रकाशित मिति : December 16, 2021 at 7:05 pm