सांगितीक साँझमा यसरी घन्काइयो बासुरी
१४ साउन, भक्तपुर । ‘व्यवहारिक ज्ञान र अनुभवका लागि नौलो चिन्तन र नविन दृष्टिकोण’ भन्ने मूल नाराका साथ सगरमाथा समूहले सांगितीक साँझको आयोजना गरेको छ । आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा समूहले सांगितीक कार्यक्रम गरेको हो । युवाहरुलाई सकारात्मक सोच, शिक्षामा दक्षता र क्रियाशील बनाउन क्रियाशील सगरमाथा समूहले आयोजना गरेको सांगितीक साँझमा गत असोज १ गतेदेखि आठ महिनासम्म प्रशिक्षण लिएका बासुरीवादक कलाकारहरुले बासुरी वाद्यको माध्यमबाट कार्यक्रमका सहभागीहरुलाई मनोरञ्जन दिएका थिए ।

विभिन्न नेपाली र नेवारी गीतको बोलमा बासुरीवादन प्रस्तुत गरिएको कार्यक्रममा भक्तपुर कैशालटारस्थित आर्दश जनप्रेमी विद्यालयका विद्यार्थीहरुले ‘रातो र चन्द्र सूर्य’ बोलको राष्ट्रगानमा बासुरीवादन प्रस्तुत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं. ३ का आन्तरिक तथा कानुनमन्त्री शालिकराम जमरकटेलले भने, ‘नेपालको पहिचान भनेकै हाम्रा कला, संस्कृति र सांस्कृतिक धरोहर हुन् । त्यसकारण यसलाई हामीले संरक्षण र संवद्र्धन गर्नु जरुरी छ ।’ उनले सगरमाथा समूहले गरिरहेको कार्यप्रति आभार व्यक्त गर्दै सधैं सहयोग गरिरहने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा प्रदेश नं. ३ क्षेत्र नं. २ ख का सभासद् डा. राजेन्द्रमान श्रेष्ठ, मध्यपुर थिमि न.पा. वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, जनप्रेमी कलेजका प्रिन्सिपल निमेश आचार्य, परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखाका शाखा प्रवन्धक शरद अर्याल, पूर्व एआईजी डा. ठाकुरमोहन श्रेष्ठलगायत वक्ताहरुले समाज परिवर्तनका लागि युवाहरुको ठूलो भूमिका रहने भएकाले राष्ट्र निर्माणका लागि युवाहरुको खाँचो रहेको बताए ।

मध्यपुर थिमिस्थित बालकुमारी मन्दिर प्राङ्गणमा भएको उक्त सांस्कृतिक कार्यक्रममा युवा सूचना केन्द्रका सद्भावदुतको रुपमा गत सार्कमा ५५ केजी समूहमा वक्सिंगमा स्वर्ण पदक विजयी श्री दिपेश श्रेष्ठलाई घोषणा गरी सम्मान गरिएको सगरमाथा समूहका अध्यक्ष कृपा श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा सहयोग गर्ने संघसंस्थालाई कदर–पत्र र बासुरी प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : July 30, 2018 at 10:40 pm









