२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

एमाले केन्द्रीय कमिटी बैठकका यस्ता छन् निर्णय

२६ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)ले स्थायी कमिटी र पोलिटव्युरो गठन गरेको छ । आइतवार सम्पन्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीसहित २६ जना नेताहरुलाई स्थायी कमिटी सदस्यमा चयन गर्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको पार्टीका महासचिव शंकर पोखरेलले बताए । त्यसैगरी बैठकले ५४ जनाको पोलिटव्युरो पनि गठन गरेको छ ।

बैठकले १० प्रतिशतलाई केन्द्रीय सदस्यलाई मनोनित गर्नुपर्ने पार्टीको विधान अनुसार ४५ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरिएको पनि महासचिव पोखरेलले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको दशौँ महाधिवेशनबाट पारित विधानको सम्पादन र नियमावली संशोधन गर्नका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा खगराज अधिकारी र रमेश बडाल सदस्य रहेको कार्यदल गठन गरेको छ । एमालेको जिल्ला अधिवेशन पौष २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने निर्णय गरिएको महासचिव पोखरेलले बताए ।

बैठकले फागुन महिनाभित्रै सम्पूर्ण जनवर्गिय संगठनहरुको अधिवेशन गर्न निर्देशन दिएको छ । बैठकले सातै प्रदेशको प्रदेश इन्चार्ज तोक्नुका साथै निर्वाचित ३०१ केन्द्रीय सदस्यहरुलाई नै जिम्मेवारी तोकेको छ । मनोनीत केन्द्रीय सदस्यहरुलाई भने केन्द्रीय कार्यालयले पछि जिम्मेवारी तोक्ने बताइएको छ ।

प्रकाशित मिति : December 12, 2021 at 7:30 pm