घुर्की लगाएर घरमै बसिरहेका रामचन्द्र पाैडेल पनि पुगे उद्घाटनसत्रको मञ्चमा
२४ मंसिर, काठमाडाैँ । घुर्की लगाएर घरमै बसिरहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल पनि उद्घाटनसत्रको मञ्चमा पुगेका छन । उनी केहीबेर अघिमात्र मञ्चमा पुगेका हुन । अाफू गुटका तर्फबाट सहमतिको साझा उम्मेदवार बन्न नपाए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका पाैडेल उद्घाटन सत्रमा पनि नजाने भन्दै घुर्की लगाएर बसेका थिए । बिहान नेताहरूले निवासमै पुगेर फकाएपछि पाैडेल मञ्चमा पुगेका हुन ।
यता कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ । काठमाडौंमा शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो ।
सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइएसँगै पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो । सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला नाम चर्चामा छ ।

तर, आफ्नो पक्षमा समर्थन नजुटेपछि महाधिवेशनमै सहभागी नहुने भन्दै विज्ञप्ति जारी गर्ने तयारी गरेपछि पौडेललाई नेताहरूले रोकेका थिए । तत् पश्चात सिंह र कोइरालाले छाडे आफूले पनि पौडेललाई समर्थन जनाउने भन्दै निधिले विज्ञप्ति जारी नगर्न आग्रह गरेका थिए ।
पौडेलको पक्षमा देउवा र सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ । ‘सिंहबाहेक संस्थापनइतर पक्षको समर्थन रामचन्द्रजीलाई देखिएको छ । विमलेन्द्र निधिले पनि समर्थन जनाउने भएपछि आजै बेलुकासम्म उम्मेदवारी टुंगो लाग्छ’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले न्युज कारखानासँग भने ।
प्रकाशित मिति : December 10, 2021 at 2:08 pm









