१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

चितवनको कालिकामा प्रशासकीय अधिकृतले कमिसन नपाएपछि सार्वजनिक सुनुवाई रोके

१२ साउन, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले पाँच हजार रुपैया कमिसन नपाएपछि आज शनिवार हुने भनिएको सार्वजनिक सुनुवाइ रोकिएको छ । सार्वजनिक सुनुवाई गर्ने जिम्मेवारी पाएको संस्था प्रयास मिडियाले प्रमुख प्रशासकीय अधिकृतलाई घुस रकम दिन नमानेपछि उनले कार्यक्रम रोकेका हुन । विभिन्न विकास निर्माण तथा नगर भित्र हुने कार्यक्रममा कमिसन नलिई काम नगर्ने अधिकृत सुवेदीले सार्वजनिक सुनुवाई गर्ने संस्था प्रयास मिडियाले गत चैत्र ९ गते शुक्रवार भएको सार्वजनिक सुनुवाई कार्यक्रमको कमिसन रकम नदिएपछि साउन १२ गते गर्ने भनिएको कार्यक्रम समय नभएको कारण देखाउदै उनले रोकेका हुन ।

नगरका विभिन्न शाखाहरु मार्फत सेटिङ मिलाई रकम कुल्याउन पल्केका अधिकृत सुवेदीले पत्रकारहरुले सञ्चालन गर्दै आएको प्रयास मिडियासंग पनि कमिसन मागेपछि उनको कर्तुत वाहिर आएको हो । गत चैत्र ९ गते भएको सार्वजनिक सुनुवाईको रकम समेत भूक्तानी दिन आनाकानी गरी उनले दुई महिनापछि मात्र भुक्तानी दिएका थिए । आफुले कमिसन नपाउने भएपछि अधिकृत सुवेदीले नगरमा पेश गरिएको भ्याट बिल सहितको कागजपत्र हराएको भन्दै भुक्तानी दिन आनाकानी गरेका छन ।

दुईपटक एकै कार्यक्रमको भ्याट विल काट्दा एक पटकको प्रमुख प्रशासकीय अधिकृतले नै भ्याट रकम तिर्नुपर्ने प्रयास मिडियाले अडान लिएपछि उनले बिल फेला परेको भन्दै दुई महिना पछि रकम भुक्तानी दिएका थिए । सो कार्यक्रमको रकम मिलाउने जिम्मा अधिकृत सुवेदीले नगरपालिकाकै सुचना अधिकृत बलराम लुइटेललाई जिम्मा लगाएको बुझिएको छ ।

लामो समय तत्कालिन जिल्ला विकास समितिमा काम गरेर सो नगरपालिकामा गएका लुइटेलले जिल्ला विकास समितिमा पनि सार्वजनिक सुनुवाईको पाँच सात हजार लिने गरेको र यहाँ पनि पाउनुपर्ने बताएका थिए । पत्रकारहरुले गरेको कार्यक्रममा समेत कमिसन रकम माग गर्ने सुचना अधिकृत लुइटेल र प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नगरका हरेक कार्यक्रममा सेटिङ मिलाई रकम लिने र नदिए कार्यक्रमनै गर्न नदिने गरेको नगरबासीको आरोप लगाएका छन ।

स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ अनुसार नगरपालिकाले हरेक चार चार महिनामा भए गरेका काम र गतिविधिको स्थानीयहरुलाई सार्वजनिक सुनुवाई मार्फत जानकारी गराउनु पर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार २०:३४