खोटाङमा कांग्रेस क्षेत्रीय अधिवेशन: राति नै मत गणना सुरु
३ मंसिर, खोटाङ । खोटाङमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति (प्रदेश ख)को मत गणना सुरु भएको छ । शुक्रबार ५ बजे मतदान सकिए पनि राति ८.४० बजेदेखि मत गणना सुरु भएको हो । बिहानसम्ममा मत परिणाम आउने निर्वाचन अधिकृत सुदीप काफ्लेले बताए ।
कुल मतदाता (क्षेत्रीय प्रतिनिधि) संख्या ६७२ रहेको प्रदेश ‘ख’मा ६३५ मत खसेको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति (प्रदेश ख)को अधिवेशन सिमपानीस्थित सिमपानी क्याम्पसको भवनमा आयोजना गरिएको छ ।
कांग्रेसको क्षेत्रीय कार्यसमिति (प्रदेश ख)को सभापतिमा रामचन्द्र पौडेल खेमाबाट दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रवीण राई, सहसचिवमा कमल प्रधान र राजकुमार बस्नेत चुनावी मैदानमा छन् ।
यस्तै, कृष्ण सिटौला/गगन थापा प्यानलबाट क्षेत्रीय कार्यसमिति (प्रदेश ख)को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटुवाल, सहसचिवमा मणिराज खत्री र शिव राई उम्मेदवार छन् । प्रदेश ‘ख’मा देउवा, पौडेल र कोइरालाको सहकार्य भएपछि सिटौला/थापा खेमा एक्लै चुनावी मैदानमा उत्रिएको बताइएको छ ।

प्रदेश ‘क’को मत गणना हुँदै
कांग्रेस क्षेत्रीय कार्यसमिति (प्रदेश क)को मत गणना पनि रातारात गर्ने तयारी गरिएको छ । हलेसीस्थित महेन्द्रोदय माविमा आयोजित अधिवेशनअन्तर्गत भएको मतदानको मत गणना राति १० बजेपछि सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत शिवहरि ढकालले बताए । महाधिवेशन प्रतिनिधिका उम्मेदवार किसन भुजेल ‘अल्पसंख्यक हुन् वा होइनन्’ भन्ने विषयमा दाबी विरोध परेपछि मतदान निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो ।
कांग्रेस क्षेत्रीय कार्यसमिति (प्रदेश क)मा सभापति शेरबहादुर देउवा निकट टिमबाट भक्तजङ राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलीप राजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राईलाई उम्मेदवार बनाएको छ ।
यस्तै, महामन्त्री डा. शशांक कोइराला निकट टिमबाट क्षेत्रीय कार्यसमिति (प्रदेश क)को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल उठेका छन् ।
प्रकाशित मिति : November 19, 2021 at 11:58 pm









