एमालेको दशाैँ महाधिवेशनको प्रचारमा तिब्रता, सामाजिक सञ्जाल एमालेमय
३ मंसिर, काठमाडाैँ । नेकपा एमाले केन्द्रीय प्रचार विभागको आयोजनामा दशौं राष्ट्रिय महाधिवेशनको प्रचार–प्रसार सम्बन्धी जनसंगठन र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुसंगको बैठक सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा नेकपा एमाले सम्बद्ध जनसंगठनका प्रमुख एवं प्रचार विभाग प्रमुखहरुले आ–आफ्ना संगठका तर्फबाट गरिरहेको प्रचार प्रसारका कामको रिपोर्टिङ गर्नुभएको थियो । बैठकमा प्रमुख भट्टराईले सबै जनसंगठनलाई आ–आफ्नो तर्फबाट प्रचारमा जुट्न आव्हान गर्नुभयो ।
बैठकमा बुद्धिजिवी परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले परिषदका तर्फबाट प्रचारका कामहरुमा भएको गतिविधिबारे जानकारी गराउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका कार्यवाहक अध्यक्ष रामबहादुर चन्दले महाधिवेशन स्थलमा १५ जना विशेषज्ञ सहितको हेल्थ डेस्क राख्ने जानकारी दिनुभयो ।
उत्पीडित जातिय मुक्ति समाजले महाधिवेशन स्थलमा जातिय विभेद अन्त्यको नारासहितको गेट निर्माण गर्ने समाजका प्रचार प्रमुख कृष्ण गजमेरले जानकारी दिनुभयो । यस्तै पेशागत महासंघका अध्यक्ष बाबुराम थापाले प्रदेश स्तरीय बैठक आयोजना गरेको र सोही बैठकबाट ठोस निर्णय गरी प्रचारमा जुट्ने बताउनुभयो ।

बैठकमा राष्ट्रिय युवा संघ नेपालले दुई वटा होर्डिङबोर्ड र दुई वडा गेट तयारी गरिएको र थप तयारीका लागि प्रदेशस्तरीय बेठक आयोजना गरिएको उपाध्यक्ष अशोक चौलागाईंले जानकारी दिनुभयो । अनेरास्ववियुका उपाध्यक्ष मोती वि.कले सबै जिल्ला कमिटीले राजमार्गमा गेट निर्माण गर्ने बताउँदै उद्घाटन सत्रमा स्वयम् सेवक खटाउने जानकारी दिनुभयो ।
लोकतान्त्रिक अपांग महासंघले प्रचार विभागले उत्पादन गर्ने प्रचार सामाग्रीमा सांकेतिक भाषाको संयोजन गर्ने र ¥यालीमा तीन पांग्रे स्कुटर सहभागी हुने जानकारी दिनुभयो । आदिवासी जनजाती महासंघका प्रचार विभाग प्रमुख राजेन्द्र श्रेष्ठले चितवन प्रवेश गर्ने तीन वटा नाकामा गेट निर्माण गर्ने जानकारी दिनुभयो ।
जन सांस्कृतिक महासंघका प्रेम अधिकारीले उद्घाटन कार्यक्रममा एकै पटक ७२ जना कलाकारले एउटै मञ्चमा प्रस्तुती दिने बताउनुभयो । बैठकमा मंसिर ७ गते देशभर मोटरसाइकल ¥याली गर्ने र संयोजनको जिम्मा राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले गर्ने प्रचार प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा सञ्जाल समितीका संयोजक चेतन अधिकारीले सामाजिक सञ्जाल परिचालनका लागि समितीले फेसबुकमा ४९ हजार र ट्विटरमा ३० हजारभन्दा बढी फलोअर भएका नेताहरुको सुची तयार भइरहेको, पार्टी कार्यलयको वेभसाइटमा राखिएका सामग्रीको शेयर गर्न सबैलाई स्मरण गराइएको जानकारी दिनुभयो ।
प्रचार विभाग प्रमुख भट्टराईले पार्टीको महाधिवेशनसँग सम्बन्धित सामग्री पार्टीको वेभसाइट र यूट्युव च्यानलको स्रोतबाट सामाजिक सञ्जालमा व्यापक बनाउन निर्देशन दिनुभएको छ । बैठकमा नेकपा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले प्रचार प्रसारलाई अझ ब्यवस्थित र ब्यापक बनाउन आआफ्ना क्षेत्रमा खट्न आग्रह गर्नुभयो ।
प्रकाशित मिति : November 19, 2021 at 9:26 pm









