१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बिपी राजमार्गमा मालबाहक गाडीलाइ दिउँसोको समयमा प्रवेशमा रोक लगाएपछि व्यवसायी मारमा

११ साउन, बनेपा । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले काभ्रेपलाञ्चोक हुँदै सिन्धुली प्रवेश गर्ने नाका बिपी राजमार्गअन्तर्गत दुम्जाबाट मालबाहक गाडीलाई दिउँसोको समयमा प्रवेशमा रोक लगाएपछि व्यवसायीले सास्ती व्यहोर्नु परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले साउन १ गतेदेखि बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मालबाहक गाडी प्रवेशमा रोक लगाएको हो ।

सवारीसाधन प्रवेशमा रोक लगाएपछि व्यवसायी बीच बाटोमा दिनभरी अलपत्र पर्ने गरेका छन् । मंगलटार प्रहरी चौकीबाट प्रवेश गरेर सिन्धुलीका लागि गुडेका मालबाहक गाडी सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जास्थित प्रहरी चौकीले रोक्ने गरेको छ । प्रहरी चौकीसम्म निर्वाध रुपमा गुडेका गाडी चौकीले अगाडि जान नदिएपछि पुनःफर्केर सुनकोशी गाउँपालिका– १ स्थित आँपघारीमा सडक छेउमा थन्क्याउनु परेको बा२क ४६९३ नं का गाडी चालक रत्नदास श्रेष्ठले बताउनुभयो ।

अर्का टिपर चालक भरत लामा गाडी रोकेर बस्नुपर्दा दिनभरीको आम्दानी गुमाउनु परेको बताउनुहुन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरीक्षक श्याम माझीले नेपाल सरकारको निर्णय अनुसार नै गाडी प्रवेशमा रोक लगाइएको बताउनुभयो । निर्माण सामग्री ढुवानी गर्ने गाडी र डोजर सम्बन्धित सडक डिभिजन वा यातायात व्यवस्था विभागको पत्र हेरेर मात्रै छोड्ने गरेको उहाँ बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले दिउँसोको समयमा मालबाहक गाडी सञ्चालनमा रोक नलगाएको बताउनुभयो । “हामीले बिपी राजमार्गको सन्दर्भमा नेपाल सरकारले गरेको निर्णय अनुसार १६ टनभन्दा माथिका मालबाहक गाडी र २४ सिटभन्दा बढीका सवारी साधनलाई मात्रै रोक लगाएका छाैँ,” उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १६:०५