१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

भक्तपुरमा पहिरोले चार घर विस्थापित

११ साउन,भक्तपुर । चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीटोलका धर्मराज पुरीको दुई तले कच्ची घरलाई विसं २०७२ को भूकम्पले क्षति पु¥याएको थियो ।

भूकम्पले क्षति पु¥याएको माथिल्लो तल्लाको मर्मतपछि धर्मराजको चार जनाको परिवार सोही घरमा बस्दै आएपनि गत असार २७ गते परेको अविरल वर्षाका कारण घर अगाडिको डिलमा गएको पहिरोले सो घर उच्च जोखिममा परेपछि अहिले उहाँ घरबारविहीन बन्न पुगेका छन् ।

उहाँजस्तै पुरी टोलका सानुकान्छा पुरी, विश्वनाथ पुरी र कुवेर पुरीको घर समेत पहिरोको उच्च जोखिममा परेको छ । कुवेरको निर्माणाधीन दुई तले घरसमेत पहिरोको जोखिममा परेपछि अहिले उहाँ विचल्लीमा पर्नुभएको छ । “भुइचालोले पुरानो घरमा बस्न नहुने भएपछि जग्गा बेचेर नयाँ घर बनाइएकामा त्यो पनि निर्माण पूरा नहुँदै पहिरोले लाने खतरा भयो,” उहाँले भन्नुभयो ।

घर अगाडिको डिलमा पहिरो जाँदा पुरीटोलका चार परिवारको आँगन र घर समेत चिरा परेको छ । पहिरोका कारण कुनै पनि बेला घर भत्किन सक्ने सम्भावना बढेपछि चारै परिवारलाई सुरक्षित बासका लागि नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाको पहलमा जिल्ला शाखाले टेन्ट उपलब्ध गराएको छ ।

पहिरोका कारण घर र आँगनमा चिराचिरा परेपछि प्रति परिवार एकएक वटा टेण्ट उपलब्ध गराइएको उपशाखाका सभापति विदुर नेपालले जानकारी दिनुभयो ।

त्रिपलआर परियोजनाअन्तर्गतको च्याम्हसिंह सुडाल सडकको ट्रयाक खन्ने क्रममा बनेको डिलमा पहिरो गएका कारण पुरी टोलका चारै परिवारको घर जोखिममा परेको पीडित धर्मराजले बताउनुभयो ।

प्रकाशित मिति : 09:16