एमाले नुवाकोटले छान्यो १६ प्रतिनिधि, चुनावमा पार्टीका उम्मेदवार हराउन लागि पर्ने पनि छानिए
२७ कात्तिक, काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि नुवाकोटबाट १७ जना प्रतिनिधि चयन हुनुपर्नेमा १६ जनामात्र छानिएका छन । क्षेत्र नम्बर २ बाट एक जना प्रतिनिधि छानिन बाँकी छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले राष्ट्रिय महाधिवेशनका लागि १६ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन भएको छ ।
१६ मध्ये केही गत चुनावमा एमालेकै उम्मेदवार हराउन लागि परेका पनि छानिएको भन्दै पार्टीका युवा नेताहरूले असन्तुष्टि जनाएका छन । उनीहरूले पार्टीका लागि काम गरेका भन्दा पनि नेताको वरिपरि घुम्ने र चुनावमा खुलेआम पार्टीका उम्मेदवार हराउन लागि पर्ने गणेश प्रवृतिका व्यक्ति पनि छानिएको भन्दै असन्तुष्टि जनाएका हुन । त्यस्तै विदुर नगरपालिका बाटमात्रै ४ जना छानिएका छन । १२ पालिका रहेको नुवाकोटमा धेरै पालिका शून्य भएका छन भने कतिपय रहरलाग्दाहरू छुटेको बताएका छन ।

नेकपा एमाले नुवाकोट १७ जना प्रतिनिधिको लागि ८१ जनाको उम्मेद्वारी परेको थियो । उम्मेद्वारी पश्चात छलफल गर्दै नेकपा एमाले नुवाकोटले सर्वसम्मत रुपमा प्रतिनिधिको चयन गरेको हो । एमालेले क्षेत्र नम्बर १ बाट बिन्दा ढुङ्गाना, बद्री मैनाली, काशिराज अधिकारी, पूर्णलाल श्रेष्ठ, शर्मिला थपलिया, जित बहादुर घले, मंगलमाया प्रजापति, केशव सेञ्चुरी प्रतिनिधिको रूपमा चयन भएका छन ।
त्यस्तै क्षेत्र नम्बर २ बाट केशवराज पाण्डे, नारायण खतिवडा, रामशरण प्याकुरेल, बुद्धि प्रधान, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गिता दाहाल र उषाकिरण तिम्सेना रहेका छन । प्रतिनिधिमा युवाको प्रतिनिधित्व न्यून देखिएको छ । बेलकोटगढी नगरपालिका मेयर राजेन्द्ररमण खनाल र विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित लगायत भने प्रतिनिधि चयन हुन सकेनन् ।
प्रकाशित मिति : November 13, 2021 at 8:44 pm










