१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

भरतपुर महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण हुने

–डिल कुमारी नेपाल र बिपिन रेग्मी
१० साउन,चितवन । भरतपुर महानगरपालिकाकाे अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने याेजना पुरा भएकाे छ । शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याएकाे छ ।

महानगर प्रमुख रेनु दाहालका अनुसार जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिनेछ । महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खालि रहेको पाँच बिगाहा जग्गामा सिटीहल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको र प्रक्रिया पूरा भएपछि जग्गाप्राप्तिका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने तयारी भइरहेको दाहालले बताइन् ।

नेपालमा अहिलेसम्म निर्माण नभएको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न सिटीहल निर्माण हुँदैछ । जसमा पाँच हजार मानिस अट्नसक्ने ठूलो हल र अरु सानाहल, पार्किङ, फुडल्याण्ड, बगैँचा समेत रहने महानगर प्रमुख दाहालले बताइन ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय चितवनका प्रमुख कुमार घिमिरेले बिभागले सिटीहलका लागि रु ५० करोड छुट्याए पनि जग्गा प्राप्तिमा ढिलाइ भएकाले गत आर्थिक वर्षमा काम थाल्न नपाएकाे बताए ।गएकाे आर्थिक वर्षमा काम शुरुगर्न रु पाँच लाख विनियोजन गरिएकाे थियाे । तर जग्गाको अभावमा काम शुरु हुन सकेकाे थिएन ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको जग्गा ७५ बिगाहा १० धुर जमिन रहेकाे छ । यता नेपाली काँग्रेसको चितवनले शाखाले भने क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने भन्दै सिटीहलका लागि अन्यत्र जग्गा व्यवस्थापन गर्न महानगरलाई दवाब दिँदै अाएकाे छ ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ००:३२