५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

जुमानु प्रेरित खुमलटार फाइनलमा, उपाधिका लागि झापासँग खेल्ने


१४ कात्तिक, काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका सदस्य जुमानु राई प्रेरित एफ डी खुमलटार भेट्रान्स क्लब ‘मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता’को फाइनल प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा सानो गौचरण नाइट किङ क्लब (एसएनकेसी) लाई २-० गोल अन्तरले पराजित गर्दै खुमलटारले उपाधिका लागि झापा भेट्रान्स एफसीसँगको भेट पक्का गरेको हो ।

खुमलटारको जितमा रितेश खड्का र जुमानु राईले समान एकएक गोेल गरे । खुमलटारले पहिलो हाफमा गरेको दुई गोललाई जोगाउँदै अपराजित रहँदै फाइनल पुगेको हो ।

खेलको पाँच मिनेटमा सानो गौचरणका दिनेश ब्यञ्जनकारले गरेको गल्तीको फाइदा उठाउँदै १८ यार्ड बक्सबाट रितेशले उत्कृष्ट गोल गरे । त्यसको दुई मिनेटमै जुमानुले खुमलटारको अग्रता दोब्बर बनाए । बक्सभित्र सानो गौचरणका तीन डिफेण्डरलाई बिट गर्दै जुमानुले आकर्षक गोल गरे ।

दोस्रो हाफमा थप गोल नहुँदा खुमलटार पहिलो संस्करणको भेट्रान्स कपको फाइनलमा पुग्न सफल भयो । खेलको म्यान अफ दि म्याच खुमलटारका राजकुमार केसी भए । यसअघि आइतबारै भएको पहिलो सेमिफाइनलमा झापाले बलियो आर्मी भेट्रान्स टोलीलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गर्‍याे ।

झापाको जितमा कप्तान भेषराज लिम्बू र श्यामकुमार गोलेले एकएक गोल गरे । खेलको पहिलो हाफ बराबरी सकिँदा दोस्रो हाफमा झापाले दुई गोल गरेको थियो । भेषले खेलको ४७ र श्यामले ६० मिनेटमा गोल गरे । झापाका कप्तान भेष म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा आर्मीको पहिलो हार हो भने झापा अपराजित छ ।

लिगकप नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए । २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाएका थिए । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । फाइनल खेल मंगलबार हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार १७:३२